०४ बैशाख २०८१, मंगलबार

विराटनगरका पेट्रोलपम्पका शौचालयलाई सार्बजनिक बनाउने तयारी

संवाददाता

विराटनगर । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ ।
विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको मेयर नागेश कोइरालाले बताए । महानगर बनाउने दायित्व हरेक नागरिकको भएकाले पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि ओपन गर्न आग्रह गरे । पेट्रोलपम्पका शौचालयलाई सार्वजनिक रुपमै प्रयोग गर्न दिन उनले आग्रहसमेत गरे ।
उपमेयर शिल्पा निराला कार्कीले पनि पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिएबापत महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । सरसफाई, सेनेटरी प्याड के–केमा हुन्छ सहयोग गर्न महानगर तयार बताईन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले छलफल सकारात्मक भएकाले चाँडै नै यसले मूर्त रुपमा लिने दाबी गरे । महानगरको सामाजिक महाशाखाका प्रमुख पुनम दाहालले सहजीकरण गरेको कार्यक्रममा पेट्रोलियम डिलर्स एसोसिएसनमा आबद्ध व्यवसायीहरूले शौचालय प्रयोग गर्न दिन आफूहरू तयार रहेको बताएका छन् । उनीहरुले सार्वजनिक नै भनेर लेख्दा समस्या उपन्न हुने बताए । ‘शौचालय प्रयोग गर्न दिन तयार छौं, तर सार्वजनिक नै भनेर लेखेरै प्रयोगमा ल्याउँदा समस्या आउँछ, एसोसिएसनका प्रदेश महासचिव रुद्र कार्कीले भने, संवेदनशील क्षेत्र भएकाले चुरोट खाने, जथाभावी फोहोर गर्ने समस्या आउन सक्छ त्यसतर्फ पनि सचेत हुनुपर्छ ।’
एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल बिडलाले सार्वजनिक शौचालयकै रुपमा प्रयोग गर्दा पेट्रोलपम्पहरूको सुरक्षामा भने चुनौती देखिने उल्लेख गरे । महानगर क्षेत्रभित्रका पेट्रोलपम्पमा रहेका शौचालयहरूको अवस्थाको अनुगमन गरी व्यवस्थित बनाउनका लागि महानगर, नेपाल आयल निगम र पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि रहने गरी समिति गठन गरिएको छ । समितिले दिएको सुझावका आधारमा पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा निष्कर्षमा पुगिने प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्