११ बैशाख २०८१, मंगलबार

स-साना कामहरु महानगरको प्राथमिकता

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक महिना अगाडि तीनपैनी छेउमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको थियो । रेष्टुरेन्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठूलो क्षति भएको थियो । विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीहरूले प्रतिबद्धता जनाएका छन् ।
होटलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटल एसोसिएसन नेपाल प्रदेश–१ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाए । “महानगरले धेरै राम्रो निर्णय गरेको छ । यो हाम्रै सुरक्षाका लागि हो,” अध्यक्ष श्रेष्ठले भने, “हामी होटलको स्तर र क्षमताअनुसार चाँडै नै अग्नि नियन्त्रण यन्त्र राख्छौं ।” विराटनगरका कतिपय ठूला होटलहरूले समेत अग्नि नियन्त्रण यन्त्र नराखेको पाइएको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटल व्यवसायीहरूले प्रतिबद्धता जनाए ।
त्यसैगरी विराटनगर–६ केशलिया पुल छेउको ल्याण्डफिल्ड साइटमा सेफ्टीट्यांकीको मलमूत्र फ्याँक्न निषेध गर्ने महानगरको निर्णय पनि बुधबारदेखि नै कार्यान्वयनमा आएको छ । महानगरले सो निर्णय मंगलबार गरेको थियो ।
बुधबार सेफ्टीट्यांकी व्यवसायीहरूलाई बोलाएर तत्कालै निर्णय कार्यान्वयन गर्न महानगरले आग्रह गरेको छ । अबदेखि सेफ्टीट्यांकीको मलमूत्र विराटनगर–१४ जतुवास्थित महानगर मातहतको फोहोर पानी प्रशोधन केन्द्रमा विसर्जन गर्नुपर्नेछ । “हामीले नगर प्रहरीलाई निर्देशन दिइसकेका छौं यदि ल्याण्डफिल्ड साइटमा सेफ्टीट्यांकीको मलमूत्र फ्याँकेको पाइए कडा कारबाही गर्छौं,” मेयर कोइरालाले भने ।
खुल्ला ठाउँमा मलमूत्र फ्याँक्नेलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । यसैगरी बजार अनुगमनलाई प्रभावकारी र परिणाममुखी बनाउन महानगरले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । उपभोक्तावादी संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, औषधि व्यवस्था विभाग, वाणिज्य तथा नापतौल कार्यालयलगायत सरोकारवाला कार्यालयका प्रनितिनिधिलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा उपमेयर कार्कीले बजार अनुगमनमा सबैले साथ दिनुपर्नेमा जोड दिइन् । “हामी क्षेत्रगत रुपमा बजार अनुगमन गर्ने तयारी गरिरहेका छौं,” उपमेयर कार्कीले भनिन्, “यसमा तपाईंहरूको साथ र सहयोग चाहियो ।” कानुनले बजार अनुगमनको नेतृत्व उपप्रमुखलाई दिएको छ । अन्तरक्रियामा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बजार अत्यन्तै संवदनशील भएकाले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए । मोरङ व्यापार संघका महासचिव अनिल साह, पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुंगेल, नागरिक समाजकी अगुवा मीना जोशी, उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराई, हाम्रो अस्पतालका डा. शंकर अधिकारीलगायतले महानगरले राम्रो कामको सुरुवात गरेकाले यसमा सबै महानगरवासीले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्