१२ बैशाख २०८१, बुधबार

विराटनगर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ ।
संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्थाहरुको सहयोगमा वृहत रुपमा सरसफाई अभियान अगाडि बढाइने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइराला, जिल्ला वन कार्यालय मोरङका प्रमुख अनिरुद्धकुमार साह, मोरङ ट्राफिकका प्रमुख राजकुमार कार्कीसहित मोरङ व्यापार संघ, उद्योग संगठन, विराट व्यापार संघ, भाटभटेनी सुपर मार्केलगायतका प्रतिनिधिहरुलाई बोलाएर सडक सौन्दर्यकरण अभियानका विषयमा छलफल गरेको छ ।
संविधान दिवसको दिन महानगरले रानी नाकादेखि बरगाछीसम्म प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने तयारी गरेको छ । त्यसपछि सबै नर्सरी सञ्चालकसहित सबै सरोकारवालालाई बोलाएर अभियानका विषयमा व्यापक छलफल गरिने मेयर कोइरालाले बताए ।
छलफलमा महानगरकी उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्षहरु कुमार पोखरेल, प्रकाश साह, उद्धव भुलेज, सन्तोष न्यौपाने, हीरालाल कामत, महानगरको वातावरण तथा विपद महाशाखा प्रमुख राजेन्द्र प्रधान, व्यापार संघका उपाध्यक्ष अनिल साह, उद्योग संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघ महिला समितिकी संयोजक सरस्वती ओझा, बैंकर्स एसोसिएसनका प्रतिनिधि राजेश ढकाललगायतको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्