१६ चैत्र २०८०, शुक्रबार

लैंगिक हिंसा न्यूनीकरण गर्न घरदैलो प्रभावकारी बन्ला !

संवाददाता

विराटनगर । लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
विराटनगरमा विभिन्न वडामा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा छलफल गर्न आयोजित कार्यक्रमका वक्ताहरुले लैंगिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा प्रभावितहरुका लागि महानगरले लैंगिक हिंसा निवारण कोष स्थापना गरेको सुनाइन् । उनले कोष सञ्चालनका लागि कार्यविधिसमेत निर्माण भइसकेको जानकारी दिइन् । कार्यबाहक मेयर कार्कीले महानगरका सबै वडामा लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । “लैंगिक हिंसा क मगर्न महानगरका सबै वडामा अझै मेहनत र खर्च गरेर भए पनि जानुपर्छ,” उनले भनिन्, “विगतमा भन्दा थप प्रभावकारी र अलि फराकिलो तरिकाले काम गर्नुपर्छ ।”
युएनएफपीए, आइपास, एवीसी नेपालसँगको सहकार्यमा महानगरले विराटनगरका ५ वटा वडामा लैंगिक हिंसाका क्षेत्रमा काम गर्दै आएको छ । युएनएफपीएसँगको सहकार्यमा विराटनगर १, ६, १२, १४ र १५ नम्बर वडामा लैंगिक हिंसाको क्षेत्रमा महानगरले काम गर्दै आएको महानगरको महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमालले जानकारी दिए । युएनएफपीएकी कार्यक्रम संयोजक कृति थापाले प्रदेश–१ मा मोरङ, उदयपुर र ओखलढुंगाका ९ वटा स्थानीय तहमा काम गर्दै आएको जानकारी दिइन् । सो अवसरमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, कोकनकी प्रमुख मञ्जिता उपाध्याय, आइपासका महेन्द्र महतोले लैंगिक हिंसाका क्षेत्रमा आफ्नो संस्थाले गरिरहेका कामका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महानगरका निमित्त प्रमुख दुर्गाप्रसाद खतिवडा, स्वास्थ्य महाशाखा प्रमुख डा. विशालकुमार देव, अधिवक्ता कोशराज न्यौपाने, कोशी अस्पतालकी कृति गुप्तालगायतले लैंगिक हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्