१६ चैत्र २०८०, शुक्रबार

मोरङको बुढिगंगामा एमाले छाड्नेको लर्को

संवाददाता

विराटनगर । बुढिगंगा गाउँपालिकामा एमाले कमजोर बन्दै गएको छ। पछिल्लो एक महिनाको बिचमा नेकपा एमाले थुप्रै कार्यकर्ता माओवादीमा गएसँगै एमालेको राम्रो भनिएको बुढिगंगा कमजोर बन्दै गएको छ। गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढिगंगा गाउँपालिकाको वडा नम्बर १, ४ र ६ वडा जितेकोमा गत बैशाखमा भएको निर्वाचनमा ति सबै वडा हारेर वडा नम्बर ७ को एउटा वडा मात्र जितेको छ ।
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएका बलभद्र सरदार थारुले नै पार्टी त्यागेर माओवादीमा गएपछि अहिले त्यसैको असर थारु कार्यकर्तामा देखिन थालेको छ । स्थानीय तहको निर्वाचनमा एमालेबाट उठेपनि आफ्नै वडाका वडा अध्यक्षलाई हराउन भुमिका खेलेको आरोप सरदारलाई लागेको थियो । सरदार माओवादीमा प्रबेश गरेपछि एमालेका केही नेताहरु खुसी देखिएको भएपनि बुधबार मात्र बुढिगंगा गाउँपालिकाकै बिभिन्न वडाका एमाले निकटका वडा तहका कार्यकर्ताहरु काठमाडौँ पुगेरै नेकपा माओवादी केन्द्रमा प्रबेश गरेपछि एमाले भित्र ठुलो पहिरो गएको भन्दै चर्चा शुरु भएको छ ।
बुधबार मात्र एमालेबाट बुढीगंगा २ को वडाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार शिवनारायण चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु माओवादी प्रबेश गरेका हुन् । समानुपातिकमा सिफारिस भएका सत्यनारायण चौधरीले थारु क्लष्टरलाई समेत जोगाउन नसकेको आरोप कार्यकर्ता स्तरबाट लाग्दै आएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य जीवन आचार्यको कसरतमा ४० जना एमाले परित्याग गरी नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य कपिल सुनारले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्