१२ बैशाख २०८१, बुधबार

बुढीगंगामा नेकपा एमालेको सक्रियता बढ्दो, सबैभन्दा धेरै विकास बुढीगंगामा भएको लालबाबुको दावी

संवाददाता

विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले निर्वाचन क्षेत्रमा देशकै सबैभन्दा धेरै बजेट आएको दाबी गरेका छन् । देशकै सबैभन्दा बढी बजेट मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा आएको र क्षेत्र भित्र पनि बुढीगंगा गाउँपालिकामा धेरै बजेट ल्याएर कामहरु गर्न सफल भएको दाबी गरेका छन् । विकास सबैभन्दा बढी आफ्नो निर्वाचन क्षेत्रमा भएको दाबी पण्डितले गरेका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले राम्रो विकासको काम गर्दा गर्दै पनि पुगेन भन्नुलाई सामान्य रूपमा लिनु पर्ने र आगामी दिनमा त्यसलाई थप परिस्कृत र सुधार गरेर जाने बताए । निर्वाचनमा परिणाम आफ्नो पक्षमा ल्याउने कुरामा कुनै शंका नरहेको पण्डितको दाबी छ ।
तराई मधेश समृद्धि कार्यक्रम पहिलो पटक डिजाईन गरेर आफुले ल्याउन सफल भएकोले त्यसको आधारमा अहिले जातिगत र क्षेत्रगत रूपमा सामुदायिक भवन, झोलुङ्गेपुल र सडक पुर्वाधार निर्माणको काम धेरै गर्न सफल भएको पनि पण्डितले बताएका छन् । उनले चुनाव परिचलन कमिटी बनाए, घर घरमा हिड्नु अहिलेको आबश्यकता रहेको बताउँदै उनले कोहि कतैपनि रूने कराउने काम नगरी अघि बढ्न उनले कार्यकर्तालाई आग्रह गरे ।
नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ प्रदेश (ख) का उम्मेदवारका आकांक्षी परशुराम बस्नेतले स्थानीय तहको निर्वाचनले एमालेलाई बलियो स्थापित गरेकोले आगामी निर्वाचनमा एमाले बलियो बनेर निस्कने दाबी गरे । अहिलेको गठबन्धनलाई केही अबसरवादी र राष्ट्र घातिहरूको गठबन्धन भएको बताएका बस्नेतले एमाले शक्तिशाली रूपमा अघि बढेको बताए । एमाले भित्र तितामिठा कुरालाइ भुलेर अघि बढ्नु पर्ने बताए ।
एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा गएका तात्कालिन वडा अध्यक्ष रमेश खनाल एमालेमा फर्किएका छन् । नेकपा एमालेबाट पार्टी परित्याग गरि नेकपा माओवादीमा गएका बलभद्र सरदार थारूका छोरा कमल चौधरीले नेकपा एमालेको भरोसा अफ्नो बुबाले तोडेको बताए । हिजो देखिको आशा र भरोसाको केन्द्र एमाले भएपनि अहिले आएर पार्टी फेर्नुलाई उनले उनले गलत भनेका छन् । कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ प्रदेश (क) की उम्मेदवारकी आकांक्षी रीता न्यौपानेले बुढीगंगामा एमालेमा कुनै समस्या नभएको बताईन् । ‘कसैले ४ जना लगेर ४० जनाको दावी गर्छ भने त्यस्ता खालका पार्टी कार्यकर्ताको अभावबाट गुज्रिएको महसुस गरेका छौँ, नेकपा माओवादी लक्षित गर्दै उनले भनिन्, हामी प्रदेश र प्रतिनिधि सभा दुबै जित्ने अबस्थामा छौँ ।’ कार्यक्रममा गाउँकमिटि अध्यक्ष ध्यानचन्द्र माझीले पार्टीलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।

यहाँ कमेन्ट गर्नुहोस्