१३ बैशाख २०८१, बिहिबार

६ लेन सडकमा व्यापारीको राजनीति !

संवाददाता

रानी-विराटनगर-ईटहरी-धरान ६ लेन सडकको ढाट

विराटनगर । रानी-विराटनगर-ईटहरी-धरान ६ लेन सडकको काममा ६५ प्रतिशत मात्र प्रगति देखिएको छ । ३९ किलोमिटरमध्ये ३२ किलोमिटरमा काम धमाधम भइरहेकोले अधिकांश ठाउँमा कालोपत्रे सकिएको र केही ठाउँमा काचोपत्रे गर्ने चरणमा छ । रानीमा क्लीयरिङको काम पूरा भएको छ ।

रानीदेखि उत्तर केही ठाउँमा समस्या देखिएपनि नहरदेखि मुख्यमन्त्री कार्यालयसम्म रेलिङ लगाउने काम पनि सकिएको छ । मुख्यमन्त्री कार्यालयदेखि उत्तरका केही ठाउँमा भने रेलिङ लगाउने काममा अवरोध सिर्जना भएको परियोजनाको दाबी छ । रेलिङ लगाउनेबारे उद्योग संगठन र मोरङ ब्यापार संघले ज्ञापनपत्र दिनेदेखि अप्ठेरो अवस्था सिर्जना गरेपछि  समस्या भएको हो ।

विराटनगरको मुख्य बजार महेन्द्र चोकदेखि बरगाछिसम्मको सडकको काम नै पूरा हुन सकेको छैन । सडक कालोपत्रे गर्ने, नालीलाई ब्यवस्थित गर्ने काम समेत नभएको स्थानीय बताउँछन् । आयोजनाले सडकको दुई भागमध्ये पूर्वतर्फको भागलाई क्लीयर नगर्दा समस्या देखिएको तथा सडक काललोपत्रे समेत नभएको उनीहरुको भनाई छ । हरेक घरले अगाडी सडक सुरक्षा रेलिङ हाल्न नदिँदा पनि समस्या भएको छ । ‘हरेक घर अगाडी छाड्न सकिन्छ, परियोजना प्रमुख बद्री शर्माले भने, हामीले काम शुरु गर्छौ स्थानीय केही व्यापारी तथा स्थानीय अवरोध गर्न आउँछन् हामीलाई समस्या भएको छ ।’

व्यापारीको राजनीति
६ लेन सडकको दायाँ-बायाँको बार निर्माणमा विराटनगरका व्यापारीले अवरोध सिर्जना गरेका छन् । ब्यवसायीको हक हितमा र ब्यवसायीक उन्नयनको लागि काम गर्नु पर्ने संस्थाले बिकास निर्माणमासमेत अनावश्यक चासो दिने गरेका छन् ।

विराटनगरका दुई ठुला भनिने उद्योगी व्यवसायीका संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विकास निर्माणको काममा समेत अनावश्यक हस्तक्षप गर्दै अवरोध गरेका छन् । सडक निर्माण आयोजनाले ठेक्का लगाईसकेको सडक बार नलगाउन दवाव दिँदै प्रधानमन्त्री कार्यालयसम्मलाई ध्यानाकर्षण गराएपछि त्यो काम रोकिएको आयोजनाको आरोप छ । २०७७ मंसिर ४ गते ती दुवै व्यापारिक संस्थाले रानी–विराटनगर–ईटहरी–धरान योजनालाई ध्यानकर्षण गर्न दिईएको पत्रमा १३ वटा कार्यालयलाई बोद्धार्थ दिईएपछि त्यो काम गर्न समस्या भएको आयोजनाको भनाई छ ।

६ लेन सडकमा लगाईएको रेलिङ सम्वन्धमा ध्यानाकर्षण गराईएको पत्रमा फलामे रेडिङको औचित्य नभएको औल्याएका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘ती ब्यसायिक क्षेत्रका उद्योग व्यवसाय र आम सर्वसाधारणको दैनिक जिवन सञ्चालनका लागि मेरुदण्डका रुपमा रहेको उक्त सडकको दुवै भागमा एकातर्फ जनघनत्व बढी साना तथा खुद्रा व्यवसायीहरुले व्यापारिक सटरहरु संचालन गरी आफनो दैनिकीको जोहो गर्दै परिवारको पालनपोशण गर्दे आईरहेका छन भने अर्कातर्फ वहुराष्ट्रिय कम्पनीहरुका शो रुम, व्यापारिक मलहरु, शिक्षण संस्था, अस्पताल समेत संचालनमा रहनुका साथै विराटनगर, दुहवी, ईटहरी, धरान जस्ता शहरका मुख्य व्यापारिक केन्द्र र साना, मझौला र ठूला उद्योगहरु पनि उक्त सडकको दुवै तर्फ अवस्थित रहेकोले ६ लेन सडकको दुवै तर्फ लगाउदै गरेको फलामे रेलिङले आममानिस र श्रमिक वर्गलाई आउ-जाउमा कठिनाई सिर्जना हुन गई निकट भविष्यमा स्थानीयले स्वतफुर्त उक्त रेलिङ भत्काउने सम्भावना छ ।’

विज्ञप्तीमा भनिएका यी कुराले सडकमा हुने दुर्घटनाको लागि लगाईने सडकको दायाँबायाँको फलामे रेलिङ लगाए भत्काउने यी दुई संगठनको चेतावनी देखिन्छ । दुवैतर्फ लगाउन थालेको बार नलगाउन व्यवसायीले चेतावनी दिएपछि त्यो क्षेत्रको काम रोकिएको छ । कन्जनबारीदेखि दक्षिण महेन्द्र चौकसम्मको सडकमा दोहोरो रुपमा बार लगाउनको लागि तयारी गरिएको भएपनि काम नै हुन नसकेको परियोजनाको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्