११ बैशाख २०८१, मंगलबार

‘अपांगतामैत्री सडक संरचना, ६ बुँदे साझा प्रतिवद्धता व्यक्त

Click Biratnagar

 बिर्तामोड । अपांगतामैत्री सार्वजनिक यातायात सेवा र सडक तथा भौतिक संरचनाका लागि सरोकारवालाले ६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार विश्व सेतोछडि दिवसको सन्दर्भमा झापा नेत्रहीन संघ र संवाद समूह झापाले बिर्तामोडमा आयोजना गरेको ‘अपांगतामैत्री सडक संरचना, सवारी पार्किङ र सार्वजनिक यातायात सेवाः अवस्था र सुधारका लागि सरोकारवालाको भूमिका÷प्रतिवद्धता’ विषयक जिल्लास्तरीय संवादमा सहभागी सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नेपालमा अपांगता भएका व्यक्तिहरुले सडक तथा अन्य सार्वजनिक भौतिक संरचना र सार्वजनिक यातायातको प्रयोगमा भोगिरहेका समस्याहरुका विषयमा नेत्रहीन संघका तर्फबाट दिलकुमार राजवंशी, सिर्जना बराल, अपांगता स्वावलम्बन संस्था बिर्तामोडका अध्यक्ष दीपक थापाले जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काले अपांगता भएकाहरुको सहज आवागमनका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने भन्दै आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपांगता भएकाहरुको सार्वजनिक यातायातमा पाउने भाडा छुट, आरक्षण सिटको व्यवस्था कार्यान्वयनमा तत्काल पहल गर्ने बताए । यस विषयमा सबै सरोकारवालाको ध्यानाकर्षण गराउन जरुरी रहेको न्यौपानेको भनाइ छ । सडक डिभिजन दमकका इन्जिनियर उज्वल खतिवडाले सडक संरचनाहरु डिजाइन गर्दादेखि नै अपांगतामैत्री बनाउने सिस्टमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले विगतमा सडकलगायत भौतिक निर्माणका संरचनाहरु अपांगतामैत्री नभएपनि आगामी दिनका त्यसतर्फ विशेष ध्यान दिने बचन दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीले अपांगता भएकाहरुका लागि राज्यबाट व्यवस्था भएका नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीले कुनै कमी नराखेको बताए । उनले ट्राफिक नियम पालना गर्दा मात्र पनि अपांगता भएकाहरुले सडक, बजार क्षेत्र र यातायात सेवामा भोग्नुपरेका समस्या धेरै घटेर जाने बताए । पूर्वी हिमाल यातायात व्यवसायी संघका कार्यालय प्रमुख याम तिम्सिनाले अपांगता भएकाहरुले यातायात क्षेत्रप्रति गरेको गुनासो आगामी दिनमा कम गरेर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी राष्ट्रसंघीय महासन्धी अनुमोदन गरेको छ । संविधान तथा अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न विभिन्न कानूनहरु समेत बनेका छन् । सार्वजनिक यातायात आचारसंहिता समेत जारी भएको छ । तर कार्यान्वयन पक्ष कमजोर छ ।
नेपालमा अपांगता भएका व्यक्तिहरुले सडक तथा अन्य सार्वजनिक भौतिक संरचना र सार्वजनिक यातायातको प्रयोगमा भोगिरहेका समस्याहरु धेरै छन् । सडक पेटी जुन पैदल यात्रीका लागि हो– त्यहाँ सवारी पार्किङ गरिँदा, फुटपाथ व्यवसाय, फोहोरको थुप्रो, विद्युत पोल लगायतका कारण सहज आवागमनमा समस्या छ । ट्राफिक नियमको पालना नहुँदा तथा जेब्राक्रसबाट समेत सडक पार गर्न कठिन भएको, सडकका खाल्डा र सडकसंगै बनाइएका ढलको ढकन नहँुदा जोखिम वहन गर्नुपरेको, वस पार्क तथा स्टेशनहरुमा ह्वील चियर लिएर वा वैशाखी टेकेर जान नसक्नु, सार्वजनिक वसहरुमा ढोकाहरु अपांगता भएका व्यक्तीहरुका लागि मैत्रीपूर्ण नहुनाले चढ्न र ओर्लन समस्या हुँदै आएको छ ।
यात्रु प्रतिक्षालय वा ओर्लने ठाउँहरु अपांगता मैत्री नहुनु, क्षमता भन्दा अत्यधिक धेरै मात्रामा यात्रुहरु वोकेर हिँड्नु, आरक्षीत सीटहरु अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्न नसक्नु, सवारीका कर्मचारीले अपांगता भएका यात्रुहरु लिन इन्कार गर्नुु, दुव्र्यवहार गर्नु, अपांगता भएका व्यक्तीहरु पूर्णरुपमा सजीलोसँग सीटमा नवसीकन वा ओर्लने समयमा राम्रोसँग नओर्लीकन चालकले गाडी अगाडी वढाउनु, गाडी चढ्ने ठाउँमा भिड भएको बेलामा अपांगता भएका व्यक्तीहरुले अग्राधिकार नपाउनु लगायतका समस्या ह्वीलचीयर प्रयोगकर्ता, दृष्टिविहिन, वैशाखी टेकेर वा क्यालीपर लगाएर हिंड्नुपर्ने मानिसहरु, वहु अपांगता भएका व्यक्तिहरुले दैनिक रुपमा भोग्नुपर्दा जीवन यापन नै कठिन हुँदै आएको छ । उक्त अवसरमा बुट्टाबारी निवासी कृष्ण गिरीले १० वटा सेतो छडि खरिदका लागि ८ हजार रुपैयाँ झापा नेत्रहीन संघलाई प्रदान गरे । दाता गिरीको तर्फबाट सो रकम स्वच्छ समाजका लागि सामाजिक अभियान झापाका अध्यक्ष गणेश ढुंगानाले नेत्रहीन संघका सल्लाहकार द्रोणचार्य निरौला, अध्यक्ष सिर्जना बराललगायतलाई हस्तान्तरण गरे ।
छलफलमा सहभागीले पहिलो बुंदाअन्तर्गत ः सडक, सार्वजनिक वसपार्क वा यात्रुहरुको लागि सवारी साधन पार्कीङ्ग गर्ने ठाउँ, सडक किनारामा बनेका यात्रु प्रतिक्षालय तथा सार्वजनिक भौतिक संरचनाहरु आदिलाई क्रमशः भौतिक रुपमा अपांगता मैत्री र पहुँचयुक्त बनाउने । सडक पेटीको पार्किङ, फुटपाथ व्यवसाय तथा अन्य अवरोध व्यवस्थित गरी अपांगता भएका व्यक्तिहरु तथा पैदल यात्रीलाई आवतजावतमा सहज बनाउने । सडकका खाल्डा मर्मत, ढलमा ढकनको व्यवस्थापनका लागि पहल गर्ने, ट्राफिक नियमको पूर्ण पालना गर्ने÷गराउने । साथै सडकपेटी निर्माण गर्दा एल्लोपथ (टेकटायल) राख्न पहल गर्ने ।
दोस्रो बुंदामा ः सार्वजनिक सवारी साधनहरुमा आरक्षित सिट र सुविधाको प्रभावकारी कार्यान्वयन गर्दै अपांगता मैत्री सेवा प्रदान गर्नेे र अपांगता भएका व्यक्तिहरुलाई गाडी भाडामा दिएको सहुलियतलाई प्रभावकारी कार्यान्वयन गर्ने, अपांगता भएका व्यक्तिहरुलाई राम्रो सेवा प्रदान गर्ने यातायात व्यावसायीलाई सार्वजनिक सम्मान र यातायात कर्मचारी मजदुरहरुलाई नगद पुरस्कार प्रदान गर्ने । तेस्रो बुंदा ः अन्य यात्रुहरु, सवारी साधनका चालक र परिचालकहरुको सोच र व्यवहारलाई अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, विरामी व्यक्ति, बालवालिका, गर्भवति महिला आदिको समस्या र आवश्यकताप्रति सकारात्मक र सहयोगी बनाउने प्रयास गर्ने ।
चौथो बुंदा ः सवारी साधनमा अपांगता भएका व्यक्तिहरुलाई स्वीकार नगर्ने, अपांगता भएका यात्रु लिन इन्कार गर्ने र उनिहरुलाई दुव्र्यवहार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल उजुरी लिने र कारवाहि गर्ने संयन्त्रको निर्माण गर्ने । पाँचौं बुंदा ः अपांगता भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातमा पहुँच स्थापित गर्न ड्युटीमा रहेका ट्राफीक प्रहरीले गर्नुपर्ने सहयोग, चालकले गर्नुपर्ने सहयोग, परिचालकले गर्नुपर्ने सहयोग र अपांगता भएका व्यक्तिहरुका आवश्यकता र समस्याहरुका वारेमा सम्वन्धित व्यक्तिहरुलाई आवश्यक प्रशिक्षण र अभिमुखीकरण गर्ने गराउने तथा सरोकारवालाका लागि सञ्चालन हुने प्रशिक्षण, सचेतनामा यी विषय समावेश गर्ने तथा छैटौं बुदाँ अपांगतामैत्री सार्वजनिक यातायात सेवा र दुर्घटना न्यूनीकरणका लागि क्षमता भन्दा वढी यात्रु बोकेर हिंडने सवारी साधनहरुलाई कारवाहीको नीति लिने र यसको लागि अनुगमन संयन्त्रलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता सरोकारवालाले व्यक्त गरेका छन् ।

कार्यक्रममा निर्माण व्यवसायी संघ झापाका उपाध्यक्ष कृष्णप्रसाद प्रसाईं,
बिर्ता जेसीजका अध्यक्ष प्रविण खड्का, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका अध्यक्ष सुमन राजवंशी, नेत्रहीन संघ झापाका सल्लाहकार संयोजक द्रोणचार्य निरौला, दमक अपांग सहयोग समितिका सचिव मदन बोहोरा, अपांग स्वावलम्बन संस्था बिर्तामोडका अध्यक्ष दीपक थापा, उपाध्यक्ष चन्द्र भट्टराई, संघका सचिव भोजकुमार तामाङ, मेची बहिरा संघका अध्यक्ष गणेश पौडेललगायतको सहभागिता थियो ।

यहाँ कमेन्ट गर्नुहोस्