१३ बैशाख २०८१, बिहिबार

विराटननगर महानगरले मापदण्ड विपरितका पर्खाल हटाउन थाल्यो

Click Biratnagar

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ ।
सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएको छ । महानगरले शनिबार विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा घरको पर्खाल हटाइएको हो । स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला निर्माण रोकिएको थियो । महानगरको अगुवाइमा पर्खाल भत्काएपछि स्थानीय खुसी देखिएका छन् । एकजनाले पर्खाल नभत्काउँदा सबै स्थानीयले सास्ती बेहोर्नु परेको उनीहरुको भनाइ छ । सडकको मापदण्डको अनुपातमा एउटा घरले पर्खाल नभत्काउँदा सडक बन्न नसकेको र महानगरले नेतृत्व गरेर पर्खाल भत्काएकोमा आफूहरु निकै हर्षित भएको स्थानीयवासीले प्रतिक्रिया दिए । “एकजनाले पर्खाल नभत्काउँदा हामी सबैले समस्या झेल्नु परेको थियो,” स्थानीय केदार खड्काले भने, “तर आज विराटनगर महानगरपालिकाले जुन नेतृत्व गरेर पर्खाल भत्काएको छ त्यसको हामी भित्रैदेखि प्रशंसा गर्छौ ।” उनले अन्य क्षेत्रमा रहेका यस्ता समस्या समाधानमा महानगर लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै अर्का स्थानीय जनक तिम्सिनाले पनि लामो समयदेखि एकजना व्यक्तिले पर्खाल भत्काउन नदिँदा सडकमा आवतजावतमा समस्या भएको बताए । उनले अब सडक र नाला बन्नेमा आफूहरु ढुक्क भएको उल्लेख गरे । “अब चाहिं यहाँको नाला र सडक बन्छ भन्ने हामीलाई विश्वास लागेको छ,” तिम्सिनाले भने, “महानगरपालिकाको नेतृत्वले गरेको यो कार्यबाट हामी धेरै नै खुसी भएका छौं ।”
त्यसैगरी धरान रोडबाट कन्यामार्ग प्रवेश गर्ने मुखमा पनि भत्काएको छ । स्थानीय घमचन्द्र तिम्सिनाले आफ्नो घरतर्फको संरचना भत्काउन नदिँदा नाली बन्न सकेको थिएन । मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरको भनाइ छ । “महानगरका प्रमुख र उपप्रमुखज्यूबाट सडक मापदण्डमा परेका पर्खाल, घरटहरा हटाउन स्पष्ट निर्देशन दिइसक्नु भएको छ,” प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, “हामीले त्यसका लागि सूचनासमेत जारी गरिसकेका छौं ।” पर्खाल भत्काउन प्रमुख कार्यकारी कोइरालासहित नगर प्रहरीका प्रमुख राजन पौडेल, इन्जिनियर अर्जुन थापालगायत उपस्थिति भएका थिए । विराटनगरको विकास र समृद्धिमा महानगरलाई आफूहरुको सहयोग रहने स्थानीय देवीमाया पौडेलले बताइन् । महानगरले नक्सा पास नगरेका पर्खालको महानगरबाट स्वीकृत गर्न सूचनासमेत जारी गरिसकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्