१३ बैशाख २०८१, बिहिबार

पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच कानुनी शिक्षा क्लिनिक संचालन गर्ने

Click Biratnagar

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम शुरू गर्ने भएको छ ।
न्यायमा महिला, वालवालिका, अपाङ्ग, दलित, जनजाती, जस्ता सीमान्तकृत समूदायलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम शुरू गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । कार्यक्रमले कानूनी सेवाको गुणस्तर बढाउन, प्रभावकारी सेवाका लागि संरचनात्मक सुधार गर्न र कानूनी सहायतालाई प्रभावकारी बनाउन सहयोगी हुने पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा, कानून सङ्कायका डिन प्राध्यापक डाक्टर अनिलकुमार पोखरेलले जानकारी दिएका छन् । सरकारले निःशुल्क कानूनी सल्लाहाकारको व्यवस्था गरेको भएपनि नागरिकले थाहा नपाएर उक्त सेवा उपयोग नगरेको अबस्था, स्थानीय तहमा भएका न्यायीक समिति प्रभावकारी हुन नसकेको जस्ता विषयलाई यो कार्यक्रमले समेट्ने उल्लेख गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालयका आङ्गीक र सम्बन्धन प्राप्त क्याम्पसमा एल. एल. बी. तेस्रो वर्ष र बी. ए. एल. एल. बी चौथो र पाँचौ वर्षमा अध्ययनरत ३० जना विद्यार्थी यो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा महिला, अपाङ्ग र सीमान्तकृत समूदायका विद्यार्थीलाई प्राथमिकता दिइनेछ । छनौट भएका विद्यार्थीले ४५ दिनसम्म समूदायमा गएर त्याहाँको कानूनी अबस्था, न्यायको अबस्था, न्यायिक समितिको प्रभावकारीता, घरेलु हिंसाको अबस्थाको अध्ययन गर्नेछन् । यसमा न्याय प्रदान गर्ने विषयमा ठोस पहल गर्नेछन् । ‘बालवालिकाका समस्या, महिला, वालवालिका, अपाङ्ग र सिमान्तकृत समूदायको मानवअधिकारको क्षेत्रमा यी विद्यार्थीले काम गर्नेछन्, पोखरेलले भने, यो कार्यक्रमले महिला, वालवालिका, अपाङ्ग, सीमान्तकृत समूदायको न्यायमा पहुँच बढ्ने विश्वविद्यालयले विश्वास लिएको छ ।’ छनौट भएका विद्यार्थीले सुनसरी, पाँचथर, ओखलढुङ्गा र भोजपुर जिल्लामा गएर समूदायमा काम गर्ने पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ लका डाइरेक्टर महेशप्रसाद निरौलाले जानकारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्