१५ बैशाख २०८१, शनिबार

विकासले नछोएको विराटनगरको मरिक टोल, पर्शुराम भन्छन्, ‘आश्वासन दिन्न समस्याको समाधान गर्छु’

Click Biratnagar

विराटनगर । कोसी राजमार्गको विराटनगर–धरान खण्डबाट अलिकति पश्चिम भित्र छिरेपछि मरिक टोल पुगिन्छ । ठूल्ठूला भवन भएको राजमार्गबाट चिल्ला गाडीको ओहोर दोहोर छिचोल्दै उक्त टोल पुगेपछि प्रश्न उब्जन सक्छ–यो महानगर नै हो रु
न गतिलो सडक छ ।न खानेपानीको राम्रो सुविधा छ । आधारभूत आवश्यकताका कुराहरुबाट वञ्चित उक्त टोल कुनै दुर्गमको बस्तीजस्तो लाग्छ । विद्यालय जानुपर्ने बालबालिकाहरु दिनभरि धुलो–हिलोमा खेलिरहेका हुन्छन् । त्यसरी खेल्दा उनीहरु बारम्बार बिरामी परिरहन्छन् । यो समस्या सुनाउने ब्यक्ति हुन्, विराटनगरको मरिक बस्तीका स्थानीय ४५ वर्षीय अशोक मरिक । मोरङ क्षेत्र नम्बर (२) का नेकपा एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई उनले आफ्नो ठाउँका समस्या बेलिविस्तार लगाए । उनका अनुसार, बिजुली, सडक, खानेपानी, सरसफाई, अशिक्षा, बेरोजगारीदेखि लिएर विभिन्न समस्याको चपेटामा मरिक टोल छ ।
अशोकले सुनाए जस्तो मरिक टोलले भोग्दै आएको समस्या आजको होइन । डोम समुदायको बसोबास रहेको महानगरभित्रको यो टोलका बासिन्दा वर्षौदेखि आधारभूत सुविधाबाट वञ्चित छन् । ‘यहाँका अधिकांशको पेशा सरसफाई हो । ‘म पनि जीविकोपार्जनका लागि सरसफाईकै काम गर्छु,’ अशोक भन्छन्, ‘अनेक समस्यामा हामी रुमलिएका छौँ । जुनसुकै नेतालाई जिताए पनि समाधान हुन सकेन ।’
तर अब भने भोट माग्न आउनेलाई आफ्नो ठाउँमा विकासको प्रतिवद्धता गराएर मात्रै अघि बढ्ने र राम्रो मान्छेलाई चुनाव जिताउने योजना रहेको उनी बताउँछन् । स्थानीय चन्दु मरिक रोजगारी नपाउँदा समय त्यसै बितिरहेको बताउँछिन् ।अर्का स्थानीय ज्योति मरिक डुमका अनुसार महानगरभित्र भए पनि मरिक टोललाई विकास निर्माणले छुन सकेको छैन ।
‘मेरो कुनै रोजगारी छैन । सुँगुर चराएर समय बिताउँछु,’ उनले भनिन् ‘टोलमा सबैजसो बेरोजगार छन् । हाम्रो बसोबास रहेको ठाउँमा विकासले पनि छोएन ।’ ज्योतिले टोलमा सबैभन्दा ठूलो समस्या अशिक्षा र बेरोजगारीको रहेको बताईन् ।
‘हामी सबै कुराबाट पछि परिरहेका छौँ, राज्यले वास्तै गर्दैन,’ उनी भन्छिन्, ‘यसअघिको चुनावबाट जितेर जाने नेताहरुले आफ्नो स्वार्थ मात्रै पूरा गरे । हाम्रो समस्या देखेनन् ।’ टोलको अवस्था हेर्दा महानगरभित्र बस्छौँ भन्न पनि लाज लाग्ने अवस्था रहेको ज्योतिले सुनाए ।
टोलमा स्नातकसम्म पढेका पनि धेरैजना छ्रैनन् । स्थानीय अरम मरिक हेल्थ असिस्टेन्ट हुन् । पढाइ सकेर उनी हाल एउटा अस्पतालमा काम गरिरहेका छन् । ‘टोलका हामी केहीले मात्रै एसएलसी पास गरेका छौँ । धेरैले त पढेकै छैनन् । सबैको पारिवारिक आर्थिक अवस्था एकदमै दयनीय छ,’ स्थानीय विजय मरिकले भने, ‘धेरै कुराबाट हामी पछि परेका छौँ । पिछाडिएका हामीमाथि राज्यको नजर पनि पर्दैन । न त नेताको नै ।’
टोलको अवस्था सुधार्ने भनेर धेरैले आश्वासन नदिएका होइनन् । अझ निर्वाचनका बेला त राजनीतिक दलपिच्छेका नेता, उम्मेदवार र कार्यकर्ता आएर विकास गरिदिन्छौं भन्ने गरेका छन् । ‘तर अहिलेसम्म कसैले हाम्रो समस्याबाट पार लगाउने काम गरेनन्,’ स्थानीय गगन मरिकले भने, ‘भोट फकाउन त्यस्तो भन्छन्, तर जितेर गएपछि कहिल्यै फर्केर आउँदैनन् ।’
मरिक टोलमा १ सय २५ परिवारको बसोबास छ । ४ सय ८० जना रहेकामा बालबालिकाको संख्या १ सय ५० जना छ ।

स्थानीयका समस्या सुनेर बसेका मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतको दैनिकी नागरिकका गुनासा सुन्दैमा बित्छ । त्यस्तै समस्या सुन्न विराटनगरको मरिक टोलमा पुगेका बस्नेतलले मरिक समस्याको समाधान आफुले गर्ने प्रतिबद्धता जनाए ।
शुक्रबार स्थानीयका गुनासा सुन्ने क्रममा उनले नागरिकका समस्या सम्बोधन आफुले मात्र गर्न सक्ने बताए । टोलबासीका समस्याको सूची संकलन गर्दै उनले सबै समस्याको समाधान एक–एक गरी गर्ने योजना आफूले बनाउने पनि बताए । ‘यो टोल महानगरभित्र भएर पनि दुर्गम गाउँको जस्तो छ,’ उनले भने, ‘यसलाई समाधान गर्नको लागि मेरो पहिलो प्राथमिकतना हुनेछ ।’
दलित सुचीमा परेका मरिक (डुम) समुदायमा भइरहेको उक्त छलफलका बेला पुगेका थिए प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत । उनी पुग्नासाथ स्थानीय बासिन्दाबाट घेरिए । टोलबासीले उनीसमक्ष सबै समस्या सुनाए । बस्नेतले सबैका कुरा सुने टिपोट गरे समस्या समाधान गर्ने आधारहरु आफुसँग रहेको तथ्य उनले प्रस्तुत गरे ।
‘आज संयोग पर्यो तपाईंहरु भेला भएकै बेला आइपुगेछौं, महानगरपालिकाभित्र पर्ने भए पनि यो टोलको अवस्था दयनीय रहेछ, उनले भने’ टोलबासीका समस्या हल गर्न आफूले सक्दो प्रयास गर्छु ।’ सडक निर्माणदेखि, स्वास्थ्य, शिक्षालगायत अरु सेवा सुविधा उपलब्ध गराउन आफुले भुमिका खेल्ने बताए । महानगर र खासगरी मोरङ क्षेत्र नम्बर ६ (२) को समस्या समाधान गर्दै क्षेत्रबासीलाई सुविधा दिने उद्देश्यका साथ प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भएको उनले बताएका थिए । ‘तपाईंहरुले मलाई साथ दिनुहोस, म तपाईंहरुका समस्या समाधानमा दिलोज्यान दिएर लाग्नेछु’ उनले भने, ‘यो कुरा मैले चुनावका लागि मात्र भनेको होइन, पछि थाहा पाउनुहुनेछ, जितेर गएपछि पनि म तपाईंहरुकै माझ हुनेछु ।’ मरिक टोल र महानगरका पिछडिएका टोल र बस्तीको समस्याबारे आफू जानकार रहेको भन्दै बस्नेतले प्रदेशसभामा गएपछि ती समस्या समाधानका लागि आफ्नो भूमिका केन्द्रीत हुने उल्लेख गरे ।

यहाँ कमेन्ट गर्नुहोस्