११ बैशाख २०८१, मंगलबार

गोपाल रेग्मी भन्छन्, ‘विराटनगरको सञ्चारग्राम, बसपार्क निर्माण र विकासको थालनी मैले गरेको हो’

पछिल्लो ५ बर्ष जनप्रतिनिधिले कामै गरेनन्

Click Biratnagar

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ मा जन्मिएका ब्यक्ति हुुन् गोपाल रेग्मी । २०३८ सालमा नेपाल बिद्यार्थी संघको सदस्य भएका रेग्मी २०४० सालमा नेपाल बिद्यार्थी संघको अधिबेशनबाट जिल्ला उपाध्यक्षमा सर्बसम्मत निर्वाचित भएका थिए । त्यसयता नियमित बिद्यार्थी राजनीतिबाट अघि बढेका उनी नेपाली कांग्रेसको चौधौँ महाधिबेशन तथा प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए । उनले अहिले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
२०५१ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनले पहिलो पटक २०६६ सालमा तात्कालिन विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गर्ने मौका पाए । पहिलो पटक रेग्मी ६ महिनामै सरुवा भए । त्यसपछि दोश्रो पटक २०६७ सालमा फेरी विराटनगर आए उनले त्यो समयमा पनि पुरा कार्यकाल काम गर्न पाएनन् । ९ महिना मात्र काम गर्ने अबसर पाए । २०६८ सालमा उनी फेरी विराटनगरमा तेश्रो पटक सरुवा भए । यही समयमा रेग्मीले आफ्नो योजना अनुसार विराटनगरलाई बनाउने अभियानको थालनी गरे ।
त्यसपछि विराटनगरको पुनर्निमाणको काम शुरु भयो । यही विचमा उनले विराटनगरको डिएसपी रोड, पुष्पलाल चोक–तिनपैनी सडक र बसपार्क निर्माणको कामलाई अघि बढाउने योजना सहितका सम्झौताहरु गरे । काम गर्दै गर्दा उनको फेरी सरुवा भयो । विराटनगरको विकासमा केही गरौँ भन्ने भावना बोकेर आएका उनको १३ महिनामा नै सरुवा भएपछि काम गर्ने मनस्थितीमा केही सिथिलता आयो । सरकारले गरेको सरुवालाई सहज स्वीकार गरे र सरुवा भएको ठाउँमा गए । उनको फेरी चौथो पटक विराटनगरमा नै सरुवा भयो । त्यो बेला २०७० सालको संविधान सभाको निर्वाचन सकिएको बेला थियो । उनले यो बेला भने आफुले पाएको अधिकारको प्रयोग गरे र विराटनगरलाई नमुना बनाउनु पर्छ भन्ने योजनाका साथ उनी बढे ।
तेश्रो पटक सरुवा भएर आएको बेला तोडेको डिएसपी रोडको निर्माणको काम चौथो प्रयासमा शुरु गरे । पुष्पलालचोकदेखि तीनपैनी हुँदै बोर्डरसम्मको भित्री सडकको निर्माणका कामलाई पहिलो प्राथमिकतामा राख्दै मझौला सहरको एकिकृत वातावरणीय सुधार आयोजना संचालनमा ल्याएर र विराटनगरको भित्री सडकको नाली, ढल, सडकको विस्तार र निर्माणको थालनी गरे । यो बिचमा उनले करिब ३५० किलो मिटर भित्री सडकहरु विस्तार, फुटपाथ निर्माणको कामको नेतृत्व लिएको रेग्मीले जानकारी दिए ।
अस्तब्यस्त रहेको विराटनगरको बसपार्कलाई अहिलेको अबस्थामा ल्याउने काममा रेग्मीको योगदान रहेको छ। हिलोका कारण स्थानीयले बिरोध गरेर धान रोप्ने गरेको बसपार्कलाई नमुना बसपार्क बनाउनु पर्छ भनेर नगर विकास कोषसँग सम्झौता गरि बसपार्क निर्माण गर्नु पर्छ भनेर प्रक्रिया अघि बढाएका थिए ।
विराटनगरलाई नमुना बनाउने र सडक बिस्तार गर्ने क्रममा त्यो बेला करिब १५ वटा बढी मुद्दा आफुमाथि लागेको रेग्मी बताउँछन् ।
विश्रान्ती घाटको कथा
२०५४ सालमा विराटनगर उपमहानगरपालिकाका तात्कालिन मेयर रमेशचन्द्र पौडेलको पालामा विश्रान्ती घाट ब्यवस्थित गर्ने अभियाको थालनी भएको थियो । त्यसलाई ब्यवस्थित गर्न मारवाडी सेवा समितिसँग सम्झौता भएको थियो । २०६८ सालमा उनै रेग्मी सरुवा भएर आएपछि नगरपालिकाको तर्फबाट गर्नु पर्ने कामहरु, सडक, बिद्युत, पानी लगायतका काम पुरा भएपछि विश्रान्तीघाट निर्माणको कामले गति लिएको उनी सम्झन्छन् ।
तारिणीप्रसाद कोईराला स्मृती सञ्चारग्राम बन्नुमा पनि रेग्मीको भुमिका छ । सञ्चारग्रामलाई विराटनगरमा जग बसाउने काम पनि उनै रेग्मीकै पहलमा भएको उनले बताए । उनी विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेको बेला रेग्मीको पहलमा सञ्चार मन्त्रालयसँग समन्वय गरेर रेडियो नेपाल सेवा विकास समिति र विराटनगर उपमहानगरपालिकाका बिचमा द्धिपक्षीय सम्झौता भएको थियो । त्यही सम्झौतामा टेकेर अहिले प्रदेश १ कै नमुना सञ्चारग्रामको निर्माणको कार्य पुरा भएको छ ।
दिर्घकालिन सोचका साथ अघि बढ्ने क्षमता रहेका रेग्मीले विराटनगरको विकासका लागि धेरै योजनाहरु अघि सारेको बताए । त्यस्तै विराटनगर ७ मा ब्यापार संघसँगको सहकार्यमा ईको फाउन्टेन पार्क निर्माण गराएको दाबी गरेका रेग्मीले वडा नम्बर १२ को सामुदायिक भवन निर्माणको नेतृत्व लिएको बताए । उनको पहलमा बनेको सामुदायिक भवन अहिले स्थानीयको लागि निक्कै उपयोगी भएको छ । जोगवनीदेखि विराटनगर बजारसम्म आउने भित्री बाटो सहायक सडकको अबधारणा ल्याएर निर्णय गराई सहरी विकास कार्यालय मार्फत कार्यान्वायन गराएको उनी सम्झन्छन् । सार्बजनिक शौचालन नभएको विराटनगरमा २०७२ सालमा सार्बजनिक शौचालय निर्माण गर्नु पर्छ भनेर पुष्पलाल चोक, हाटखोला, विराटनगर बजारको सी प्लट, कोशी अस्पताल, विष्णुमायाँ पुस्तकालय लगायतको क्षेत्रमा सार्बजनिक शौचालय निर्माण गराएका थिए ।
सामाजिक सेवा क्षेत्रमा योगदानमा पनि उनले काम गरेको सुनाए । उनले बर्षको २ पटक जेष्ठ नागरिकका लागि मोतियाविन्दुको निशुल्क उपचार, ९० बर्ष कटेका जेष्ठ नागरिकका लागि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताको अतिरिक्त प्रत्यक महिना थप एक हजार उपलब्ध गराउने गरिएको थियो । रेग्मीको नेतृत्वमा पहिलो बालमैत्री उपमहानगरपालिका विराटनगरलाई घोषणा गराई बालमैत्री स्थानीय शासनको प्रारम्भ गरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्