१४ बैशाख २०८१, शुक्रबार

बौद्धिकसँगै नेतृत्व क्षमतामा अब्बल न्यौपाने

संवाददाता

 विराटनगर । अंग्रेजीमा एमए उत्तीर्ण रीता न्यौपाने मोरङ क्षेत्र नम्बर ६ को (१) क्षेत्रकी प्रदेशसभा सदस्यकी उमेदवार छिन् । उनी अहिले नेकपा (एमाले) जिल्ला कमिटी मोरङको सदस्य तथा बुढीगंगा गाउँपालिका इन्चार्ज हुन् । आत्मनिर्भर बन्नुपर्छ भन्ने मनोभाव राख्ने रीताले २०६० मा नेमुवामा स्मृति बोर्डिङ स्कुल सञ्चालन गरेकी थिइन् ।सो स्कुल साथीहरूको सहकार्यमा शुरु गरेपनि अहिले एक्लै सञ्चालन गरिरहेकी छन् । शिक्षा, स्वास्थ्य, राजनीति र समाजसेवालाई प्राथमिकतामा राखेर उनले लामो समयदेखि आफ्नै गाउँठाउँमा काम गर्दै आएकी छन् । युवा पुस्तामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेकी न्यौपाने सफल नेतृत्वकर्ताको रुपमा परिचित छिन् ।

उनी युवा पुस्तामा लोकप्रिय बनेकी छन् । विभिन्न सामाजिक संघसंस्था आवद्ध भएर नेतृत्वदायी भूमिका निर्वाह गरेकी उनी संगठन विस्तारमा अब्बल मानिन्छिन् । सन् २००४÷०५ मा टंकिसिनवारी जेजिजको संस्थापक सदस्य बनेकी रीता सन् २०११ मा अध्यक्षको जिम्मेवारी पनि कुशलतापुर्वक निर्वाह गरिन् । सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष र २०१५ मा राष्ट्रिय कार्यकारी उपाध्यक्ष बनिन् । उनी नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन मोरङ र प्रदेशको सदस्य भइन् ।

उद्योग परिसंघ प्रदेश १ को महिला विभागको उपाध्यक्ष रहेकी रीता परिवर्तनका लागि हाम्रो अभियान् मार्फत बुढीगंगामा ५ सय युवा सहभागी सम्मेलन र ३ सय युवा सहभागी सम्मेलन गरेकी थिइन् । यस कार्यको सफलताले उनको नेतृत्व गर्न सक्ने क्षमताको प्रशंसा भएको थियो । कोरोनाको महामारीका बेला आफू सल्लाहकार रहेर सृजनशील युवा समाज नेपाल मार्फत रक्तदान अभियान चलाएकी थिइन् । जुन संस्था बढी रक्तदान गर्ने अग्रणी भई सम्मानित भएको थियो । अंग्रेजीमा एमए पढ्दै गर्दा पहिलोपटक अखिलको कोषाध्यक्ष उठ्न खोजेकी उनलाई अध्यक्षमा बागी उमेदवारी दिने तयारी गरिन् ।

त्यही तयारीपछि नेताहरुको नजरमा आफू परेको बताउने रीताले विद्यालय सञ्चालन सुरु गरेपछि भने पार्टीलाई अप्रत्यक्ष सहयोग गर्दै आइन् । २०७४ सालमा डोरितान संघ मोरङको अध्यक्ष भएपछि १७ वटै पालिकामा संगठन विस्तार, प्रदेशस्तरीय प्रतियोगिताको आयोजना र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बैंककमा खेलाडी पठाएर कार्यकुशलता प्रदर्शन गरेकी रीता अहिले प्रदेश अध्यक्ष छिन् । उनले प्रदेश १ का १३ जिल्लामा कमिटी गठन गरेकी छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढीगंगा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी रीता केही मतले पराजित भएपछि पार्टी संगठन निर्माणमा तिव्ररुपले कृयाशील भइन् । पार्टी नेकपा हुँदा जिल्ला सदस्यमा उनी मनोनित भइन् । अनेमसंघ मोरङको विराटचोकमा भएको अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी न्यौपाने २०७५ मंसिर २४ मा बेलबारीमा सम्पन्न अनेमसंघ अधिवेशनबाट सचिवमा निर्विरोध निर्वाचित भइन् । त्यसको १ वर्षभित्रमा सबै पालिकामा ९० प्रतिशत वडाहरुमा संगठन विस्तार गर्न कृयाशील रहिन् । नेतृत्वदायी भूमिकामा आफूलाई सधैँ अब्बल सावित गर्ने उनै न्यौपानेलाई अहिले नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६ को (क) प्रदेशसभा सदस्य पदको उम्मेदवार बनाएको छ । न्यौपाने आफु जित्नेमा विस्वस्त छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्