१५ बैशाख २०८१, शनिबार

विराटनगर महानगरद्वारा महिला स्वास्थ्य स्वयमसेविकाहरु सम्मानित

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरको अवसर पारेर महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको हो । लामो समयदेखि कार्य गरेर स्वयमसेविकाबाट विदाई भएर जाने १९ जनालाई महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत विष्णप्रसाद कोइराला, वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा महिला स्वयमसेविकाहरु जानुका पोखरेल, सरस्वती चौधरी, भुवनेश्वरीदेवी बर्मा, हंसादेवी सरदार, डम्बरकुमारी खवासलगायत १९ लाई सम्मान गरेर विदाई गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।
त्यसैगरी स्वास्थ्य स्वयमसेविकाका रुपमा आएका १९ जनालाई सोही अवसरमा टीका लगाएर स्वागत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ग्रामीण क्षेत्रसम्म पुगेर महिला स्वयमसेविकाहरुले सेवा पु¥याइरहेकोमा खुसी व्यक्त गरे । उनले महिला स्वास्थ्य स्वयमसेविकाहरु टोलटोलमा पुग्ने भएकाले सरसफाई र कर संकलनका लागि जनतालाई जागरुक हुन उत्प्रेरित गर्न आग्रह गरे । उनले स्वयमसेविकाहरुलाई कार्य हेरेर भत्ता वृद्धि गर्दै जाने प्रतिबद्धता जनाए । मेयर कोइरालाले विदाई भएर जाने प्रत्येक स्वयमसेविकालाई महानगरका तर्फबाट जनही २० हजार र चाँदीको करुवा दिने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, महिला स्वास्थ्य स्वयमसेविका गीता घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महानगरका १९ वडामा १४८ जना महिला स्वास्थ्य स्वयमसेविका कार्यरत छन् । दिवसको अवसरमा महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि महानगरले सुनसरीको इटहरीस्थित तालतलैयामा वनभोजको समेत आयोजना गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्