१६ चैत्र २०८०, शुक्रबार

विराट एक्स्पो : प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

संवाददाता

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमा भन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।
थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफिको माध्ययमबाट प्रवद्र्धन गरिने भएको हो । एक्स्पोमा अत्याधुनिक प्रविधिको प्रयोग गरिने हुँदा आगन्तुकहरूले प्रदेश १ का पर्यटकीय स्थलहरूलाई नजिकबाट नियाल्न सक्ने छन् । प्रदेशको पर्यटकीय स्थलहरूलाई प्रविधिमार्फत नजिकबाट नियाल्न चाहने आगन्तुकहरूलाई लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको विराट एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बताए ।
राठीका अनुसार एक्स्पोमा थ्रिडीआर प्रविधिको माध्ययमबाट सगरमाथा बेश क्याम्प, कञ्चनजंघा बेस क्याम्प, ग्योको लेक, पाथीभर क्षेत्रको दृश्यावलोकन तथा धार्मिक टूर गर्न सकिने छ । यस्तै होलोग्राम प्रविधिका माध्ययमबाट समेत भर्चुअल रियालिटीमा बराह क्षेत्र, तीनजुरे मिल्के तथा पाथीभराका दृश्यहरू अवलोकन गर्न सकिने छ । राठीका अनुसार प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिने छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन समितिकम संयोजक भविशकुमार श्रेष्ठले प्रदेश १ का धार्मिक, सांस्कृतिक, प्रकृतिक पर्यटकीय स्थलहरूका बारेमा एकै थलोमा जानकारी दिइने बताए । उनले पर्यटनका लागि छुट्टै पेभिलियन बनाएर आगन्तुकहरूलाई पर्यटकीय स्थलबारे विस्तृत जानकारी दिइने स्पष्ट पारे ।
एक्स्पोमा राखिने पर्यटन पेभिलियनमा पर्यटन व्यवसायीको संस्था होटल एशोसिएसन, टूर अपरेटर एशोसियसनलगायतका संस्थाहरूले माउण्टेन फ्लाइट तथा प्रदेश १ का विभिन्न गन्तव्यहरूको टूर प्याकेज उपलब्ध गराउने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्