१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा नियमविपरीत बनेका संरचना ब्यापारी आफैँले भत्काउन थाले

संवाददाता

विराटनगर । विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् ।
पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरूले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो । महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयभित्र पनि अवैध संरचना नहटाएपछि महानगरले आफैं हटाउन सुरु गरेको थियो । तर बिहीबारदेखि भने मेनरोडका व्यापारीहरूले आफ्नो पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचना धमाधम हटाउन थालेका छन् । विराटनगरलाई यथास्थितिमा राख्न नसक्ने भन्ने मेयर नागेश कोइरालाको अभिव्यक्तिबाट आफूहरू उत्साहित भएको व्यापारी सन्तोष साहले प्रतिक्रिया दिए । “विराटनगर बनाउने अभियानमा हामी बाधक बन्दैनौं,” उनले भने, “महानगरले पनि सडकको पेटीहरूलाई व्यवस्थित बनाइदिनुपर्छ । विराटनगरको विकासका लागि हामी सबै व्यापारी महानगरसितै छौं ।”
उनले महानगरले परिवर्तनको छनक दिएकोमा खुसी व्यक्त गरे । सरसफाईमा पनि धेरै सुधार भएको साहले बताए । मेनरोडका व्यापारीहरूले आफैं पसलमाथि निर्माण गरेका सेटब्याक, होर्डिङबोर्ड, साइनबोर्ड हटाइरहेका छन् । मेनरोडमा मात्रै नभएर महानगरभरि नै अभियान सञ्चालन गर्न अर्का व्यापारी संजयकुमारसिंह मण्डलले प्रतिक्रिया दिए । खुद्रा व्यापार संघका अध्यक्षसमेत रहेका मण्डलले भन्सारमा कडा गर्नुपर्नेमा जोड दिए । “विराटनगर महानगरले अत्यन्तै राम्रो कामको सुरुवात गरेको छ,” उनले भने, “यो अभियान महानगरभरि सञ्चालन होस् । प्रशासनसँग समन्वय गरेर भन्सारमा कडाइ गरिदिए यहाँका व्यापारीले महानगरको गुन कहिल्यै बिर्सिने छैनन् ।”
महानगरले बिहीबार पनि अवैध संरचना हटाउने अभियान सञ्चालन गरेको छ । अस्पताल चोक आसपासको क्षेत्रमा निर्माण गरिएका संरचना हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । “नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले स्वतस्फुर्त हटाइरहनु भएको छ,” पौडेलले भने ।
मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित महानगर बनाउने सन्दर्भमा कसैसित पनि सम्झौता नहुने बताइसकेका छन् । मेयर कोइरालाले जस्तोसुकै दबाब आए पनि नियमविपरीत बनाइएका संरचना हटाउन नगर प्रहरीलाई निर्देशनसमेत दिइसकेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्