११ बैशाख २०८१, मंगलबार

हुलाकी सडक निर्माणमा अलमल भएपछि विराटनगरका मेयर पुगे दवाव दिन

संवाददाता

विराटनगर । विराटनगर–५ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिन थालेका छन् । स्थानीयवालागि दबाब दिन आफैं उपस्थिति भएका कोईरालले हुलाकी सडकको काम तत्काल पुरा गर्न दबाद दिए । कोइरालाकै अग्रसरमा जिल्ला प्रशासन कार्यालय, ठेकेदार र हुलाकी सडक कार्यालयका प्रतिनिधिसँग पटकपटक छलफल गर्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।
स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिएका हुन् । समन्वय गर्दा काम शुरु नभएपछि कोईराला काम पुरा गर्नु भन्दै दवाव दिन हुलाकी सडक निर्माण आयोजना कार्यालय पुगेका थिए ।
हुलाकी सडक निर्माणका ठेकेदार सम्पर्कविहीन भएका कारण सडक निर्माण हुन नसकेको हुलाकी सडक कार्यालयले जनाएको छ । ठेकेदारलाई सम्पर्कका लागि ७ दिने सूचनासमेत प्रकाशित गरिसकेको कार्यालयले बताएको छ ।
हुलाकी सडक कार्यालयले निर्माण गर्न नसके महानगर आफैंले सो सडक बनाउने मेयर कोइरालाले बताए । हुलाकी सडक कार्यालय अन्तर्गत पर्ने भएकाले सो सडक बनाउन नसकिएको उनको भनाई छ ।
‘हामी बनाउन सक्दैनौं तपाईंहरु नै बनाउनुहोस् भनेर कि त लेखेर दिनुहोस् नत्र छिटो बनाउनुहोस्, कार्यालयका प्रमुखलाई दबाब दिँदै मेयर कोइरालाले भने “पटक–पटक तपाईंहरुले ढाँटेका कारण बाध्य भएर कार्यालयमै आउनु परेको हो । म विराटनगरवासीको अभिभावक पनि हो, उहाँले धेरै नै दुःख पाउनुभयो । त्यही भएर पनि म आफैं आएको हुँ । फेरि पनि आउनुपर्ने अवस्था आए स्थानीय सडक पीडितले तालाबन्दी गर्ने गरी आउँछौं ।’
हुलाकी कार्यालयले ठेकेदारको खोजी भइरहेको र कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताएको छ । ठेक्का रद्द गर्ने प्रक्रियामा गइसकेको कार्यालयले प्रस्टीकरण दिएको छ । मेयरसँगै जामुनगाछी क्षेत्रका स्थानीय हुलाकी कार्यालय इटहरी पुगेका थिए । सडक नबन्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्