१३ बैशाख २०८१, बिहिबार

भद्रपुरमा दुई दशक पछि राष्टिय स्तरको गोल्डकप हुँदै, विजेताले १३ लाख पाउने

संवाददाता

विर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएको छ। एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको छ। आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ ।
२०६१ सालमा भएको त्रिभुवन गोल्डकप पछि चन्द्रगढीमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन । स्थानीय खेलाडीले प्रशिक्षण गरेपनि अन्य गतिबिधि हुन सकेको छैन । मैदान जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरिएको अध्यक्ष ढकालले जानकारी दिए । खेल मैदानमा झार सुकेको तथा धेरै भागमा झार नै नरहेकाले पानीले भिजाएर नयाँ झार रोप्ने काम भइरहेको छ । समितिले पार्किङका लागि आवश्यक ठाउँसमेत तयार गरेको उनी बताउँछन् ।
फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको थियो । ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको अध्यक्ष ढकालले बताए ।
भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहनेछ ।
फागुन दोस्रो साता हुने भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्