१४ बैशाख २०८१, शुक्रबार

पशुपति कृषि सहकारीको एक बर्ष, बिउ उत्पादनमा जाने तयारी

संवाददाता

विराटनगर । मोरङको बुुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको पशुपति कृषि सहकारी सस्थाले आफ्नो पहिलो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थापनाको पहिलो बर्षमा संस्थाले करिब १४ लाखको पुँजी संकलन गरेको जनाईएको छ । बुढिगंगा ४ मा आयोजना गरेको कार्यक्रममा शेयर सदस्यहरुले संस्थालाई प्रभावकारी बनाएर लाग्न सुझाव दिएका छन् । गाउँमै देउसी भैलोबाट शुरु भएको पशुपति समुह गत बर्षदेखि सहकारीको रुपमा अघि सारिएको थियो ।
सहकारी ऐन अनुसार दर्ता भएको यो संस्थाले एक बर्षमा किसान र कृषिको क्षेत्रमा काम गर्न थालेको सहकारीका अध्यक्ष केदार तिमल्सिनाले जानकारी दिए । १४ लाख ६५ हजार पुँजी रहेको संस्थाले ४ लाख ९८ हजार २६४ रुपैयाँ बचत संकलन गरेको संस्थाका अध्यक्ष तिमल्सिनाले बताए । सोही अवसरमा संस्थाले एक बर्षको बिचमा उत्कृष्ट बाल बचत, उत्कृष्ट नियमित बचत कर्ता र उत्कृष्ट नियमित किस्ता तिर्ने सदस्यलाई सम्मान गरेको छ। उत्कृष्ट बाल बचत गर्ने अंकिता ढुंगेल, नियमित बचत कर्ता तर्फ गोपीकृष्ण दाहाल र नियमित किस्ता तिर्ने सदस्यमा रोहिणी भट्टराई रहेको संस्थाका कोषाध्यक्ष युवराज नेपालले जानकारी दिए। उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। यस्तैजेष्ठ नागरिक बचत तर्फ ५ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुने जेष्ठ सदस्यहरुमा चित्रप्रसाद नेपाल, भद्रशिला अधिकारी, कृष्णप्रसाद दाहाल, पर्शुराम खत्री र शेरबहादुर खड्का रहेको उनले बताए ।
कार्यक्रममा वडा सदस्य मञ्जु बुढाथोकी तथा ईलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविणकुमार भट्टराई लगायतले कृषि सहकारीहरु प्रभावकारी रुपमा अघि बढ्न सके किसान र कृषिमा धेरै काम गर्न सक्ने बताए । सेयर सदस्यहरुले किसान र कृषिमा लगानी गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताएका छन् । सहकारी मार्फत सामाजिक र समुदायको विकास हुने भएकोले कृषि सहकारीले बिभिन्न निकायसँग समन्वय गरेर काम गर्न सकिने बताएका छन् । सहकारीले आगामी दिनमा बिउ उत्पादनलाई प्राथमिकतामा राख्ने जनाएको छ।  

यहाँ कमेन्ट गर्नुहोस्