१५ बैशाख २०८१, शनिबार

प्रदेश १ मा सरकार गठन गर्ने बारेमा दलहरु अन्यौल, केन्द्रले गर्ने निर्णय कुर्दै

संवाददाता

विराटनगर । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने बारेमा आन्तरिक छलफल भएपनि अझै कसरी जाने भन्ने टुंगो लागिसकेको छैन । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा मिलेर प्रदेश १ मा सरकार बनाउने भनिरहेको अबस्थामा सरकार गठन कसरी होला भन्ने आम नागरिकको चासो छ । संघमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको अबस्थामा प्रदेश बाँडफाँडको कुरो कसरी होला भन्नेमा दलहरु केन्द्रको निर्णयको पर्खाईमा छन् ।
प्रदेश १ मा नेकपा एमाले नेतत्वको सरकार बन्ने दाबी गरिएको भएपनि त्यसकोलागि दलहरु केन्द्रको निर्णय पर्खिएर बसेका छन् । प्रदेश १ मा सरकार बनाउनको लागि बहुमत सहित दाबी पेश गर्न प्रदेश प्रमुखले आब्हान गरिसकेका छन् । आगामी पुस २४ गते साँझ ५ बजेसम्ममा दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले आब्हान गरिसकेका छन् । उनले कुनै पनि दलको बहुमत नपुग्ने भएकोले बहुमत सहित सरकारको दावी पेश गर्न आब्हान गरेका हुन् । प्रदेश प्रमुखको आब्हान सँगै दलहरुको कसरत बढेको देखिएपनि अहिलेसम्म मन्त्रालय बाँडफाँडको बिषयमा छलफल निश्कर्षमा पुग्न नसकेको दलका नेताहरुले बताउँदै आएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएपनि मन्त्रालय बाँडफाँडको बारेमा छलफल भईरहेको बताउँछन् । ‘हामी गठबन्धन भित्र केन्द्रको निर्णयलाई पनि पर्खिएर बसेका छौँ, उनले भने, दलले केन्द्रमा गरेको निर्र्णयलाई हामीले पालना गरेर जाने हो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले केन्द्रमा हुने प्याकेजको निर्णयका आधारमा अघि बढ्ने बताउँछन् । अहिलेसम्म आन्तरिक रुपमा छलफल भएपनि सरकारमा कसरी सहभागी हुने भन्ने बारेमा कुनै निर्णय नभईसकेको सिटौलाले मकालुखबरलाई जानकारी दिए । ‘हाम्रा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन ज्यूले केन्द्रमा प्याकेजमा नै छलफल गर्दै हुनुहुन्छ, उनले भने, केन्द्रमा भएको निर्णयका आधारमा हामी कसरी जाने र कुन मन्त्रालय लिने भन्ने टुङ्गो लाग्ने छ ।’ नेकपा माओवादी केन्द्रका नेताहरु पनि केन्द्रले गर्ने निर्णयको प्रतिक्षामा छन् । प्रदेश १ को मुख्यमन्त्रीको दावेदार गरेर बार्गेनिङमा रहेको माओवादी केन्द्र राम्रा मन्त्रालयको हात पार्ने दाउमा रहेको छ । एक केन्द्रीय सदस्यका अनुसार, हामीले भन्दा मुख्यमन्त्रीमा दावी गरिरहेका छौँ तर त्यो हाम्रो मुख्य सर्त हैन राम्रा मन्त्रालय पाउनु पर्छ भन्ने हो ।

यहाँ कमेन्ट गर्नुहोस्