०८ बैशाख २०८१, शनिबार

विराटनगरमा राजश्व संकलन गर्ने नयाँ जुक्ति, मेयर र उपमेयर गुनासो सुन्दै-ब्यापारी फकाउँदै

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिका कार्यालयबाट नगर प्रहरी सहित मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी र वडा अध्यक्षहरुको टोली निस्कियो । प्रदेशद्धारबाट बाहिर निस्किएको टोली मध्ये मेयर नागेश कोईराला मेनरोडको बायाँ तर्फको सडक किरान तर्फ लागे भने पस्चिम तर्फको सडक किरानमा उपमेयर शिल्पा निराला कार्कीको टोली हिँड्यो । महानगरपालिका कार्यालयबाट दक्षिण तर्फ लागेको टोली हरेक पसलहरुमा छिर्दै गयो । मेयरको एउटा समुह थियो भने उपमेयरको अर्को समुह थियो । दुबै टोलीमा नगर प्रहरी, कर्मचारी र जनप्रतिनिधि तोकिएकै अनुरुप थिए । अगाडी बढ्दै गएको मेयर कोईरालाको टोली चुनचुन रायको खाजा तथा चिया पसलमा छिर्यो । मेयर कोईरालाले उनलाई सोधे, ‘तपाईलाई महानगरको कुनै समस्या छ ?’
रायले भने, ‘छैन हजुर ?’
मेयर कोईरालाले फेरी सोधे, सरसफाईको लागि सदस्य बन्नु भएको छ ? तपाईको पसल दर्ता भएको छ? नविकरण किन नगर्नु भएको ? सडक पेटीमा किन सामाग्री राख्नु भएको ? मेयरका यी प्रश्नको जवाफ ब्यवसायी रायले दिई रहे । मेयरसँगै गएका कर्मचारीले रायको पसलको बारेमा सबै बिवरण टिपेर लगे । ब्यवसायी रायले भने, मैले नगरपालिकामा ब्यवसाय दर्ता गरेको भएपनि नविकरण गरेको थिईँन, अब भोली नै गएर नविकरण गर्छु, फोहोर आफैँले लगेर फाल्ने गरेको थिएँ, मेयर साबले हामीलाई तत्काल सदस्य बन्न भन्नु भएको छ, त्यही अनुसार एक हप्ता भित्रमा दर्ता गरेर फोहोरको पनि पैसा तिर्छु ।’
मुल सडकको पस्चिम तर्फको सडक पेटिबाट ब्यवसायीहरुसँग छलफल गर्दै हिँडेकी उपमेयर कार्की पंकज किराना स्टोर, बाबा ग्यास डिलर हुँदै राजस्थानी ढावा हुँदै अघि बढिन् । उनले ब्यवसायीलाई ब्यवसाय दर्ता गर्नको लागि अभिप्रेरित गरिन् भनेँ फोहोर ब्यवस्थापनको लागि सहयोग गर्न आग्रह गरिन् । हामी महानगरपालिकासँग तपाईको कुनै गुनासो छ ? फोहोर उठाउन समयमा गाडी आउँछ की आउँदैन, महानगरपालिकका कर्मचारीले गर्ने ब्यवहार कस्तो छ ? उपमेयर कार्कीले सोधेको यो प्रश्नमा ब्यवसायीले महानगरपालिकाका गुनासा भन्दा पनि आफ्नो दायित्व बढी महसुस गरेको देखिन्थ्यो ।
विराटनगर महानगरपालिकाले पसलमै पुगेर व्यापारीका गुनासो र सुझाव संकलन शुरु गरेको हो ।
जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने सुझाव संकलन गर्ने अभियान अन्तर्गत पहिलो चरणमा मेनरोडका व्यापारीहरुका गुनासो र सुझाव संकलन गरिएको छ । मेयर कोइराला र उपमेयर कार्कीले फुटपाथको अवस्था, फोहोर व्यवस्थापन, बिजुलीबत्ती, महानगरका कर्मचारीबाट सेवाग्राहीलाई गर्ने व्यवहारलगायतका विषयमा जिज्ञासा राखेका थिए । जनताकै बीचमा गएर महानगरले प्रवाह गर्ने सेवाका विषयमा जानकारी लिन सुरु गरिएको पहिलो अभ्यास हो । ‘हामीले व्यापारीहरुबाट कर मात्रै संकलन गर्ने होइन उहाँहरुका पीरमर्का, सुधार गर्नुपर्ने पक्ष, कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारका बारेमा जानकारी लिन सुरु गरेका छौं, मेयर कोइरालाले भने, यसलाई अभियानकै रुपमा अगाडि बढाएका छौँ ।’
त्यस्तै टोलीले व्यवसाय दर्ता, नवीकरण र फोहोरको सदस्य बने नबनेको समेत अनुगमन गरेको छ। व्यापारीहरुले पछिल्लो समय फोहोर व्यवस्थापन र फुटपाथमा व्यापक सुधार भएको बताएका छन् ।
विराटनगर महानगरपालिका अगाडी ब्यवसाय संचालन गरेर बसेका ब्यवसायी अजय अग्रवालले महानगरपालिकाले पछिल्लो एक महिनामा सरसफाई र फोहोर ब्यवस्थापनमा उल्लेख्य सुधार गरेको बताए । उनले अभियानलाई ब्यवहारिक भन्दै ब्यवसायीबाट आएको समस्यालाई समाधान गरेर जानका लागि पनि सुझाव दिए । ब्यवसायीले नेट र केवलको तारको व्यवस्थापन गर्न सुझाव दिएका छन् । मेयर र उपमेयर पसलमै पुगेर गुनासो सुन्दा व्यापारीहरुले स्थानीय सरकार भएको महसुस गरेको प्रतिक्रिया दिए ।
सरसफाई, फुटपाथ ब्यवस्थापन र सेवा प्रवाहमा धेरै नै सुधार आएको भगतको उनीहरुको भनाई छ । ‘सबैभन्दा फोहोर व्यवस्थापनमा सुधार आएको छ, उनले भने, अव्यवस्थित तारका कारण सहरको सौन्दर्यता गुमेको छ, बिजुली, नेट र केवलको तारको व्यवस्थापन हुने हो भने विराटनगर धेरै व्यवस्थित र सफा देखिने छ ।’ उपमेयर शिल्पा निराला कार्कीका अनुसार यो अभियान एकदिनको मात्र नभई हप्तामा दुई पटकसम्म हुनेछ । यो अभियानको शुरुवात मात्र हो, उनले भनिन्, हामीले ब्यापारीका समस्या सुन्ने र महानगरपालिकाको कुरा सुनाउने गरि काम थालेका हौँ ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, १० का अर्जुन गिरीसहित महानगरका विभिन्न महाशाखा र शाखा प्रमुख, कर्मचारी तथा महानगर प्रहरीको सहभागिता रहेको थियो । अभियानको पहिलो दिन बिहीबार टोलीले महानगरको गेटदेखि सातघुम्तीसम्म अनुगमन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्