०७ बैशाख २०८१, शुक्रबार

पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनी बीच सम्झौता

संवाददाता

विराटनगर । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ ।
विराटनगर–७ निवासी शोभा मास्के प्रधान, केदारशक्ति मास्के र बद्रीशक्ति मास्केको नाममा रहेको ३ कठ्ठा ५ धुर जग्गा पार्किङका लागि प्रयोग गरिने भएको छ । महानगर र सम्बन्धित जग्गाधनीबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सरसफाई शाखा प्रमुख पुनम दाहाल र महानगर प्रहरी प्रमुख राजन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै जग्गाधनीका तर्फबाट बद्रीशक्ति मास्के, शोभा मास्के प्रधान र केदारशक्ति मास्केले हस्ताक्षर गरेका छन् । उनीहरुले महानगरलाई एक वर्षका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । सरसफाईसहितका सम्पूर्ण कार्यहरु महानगरले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै महानगरले सशुल्क पार्किङको व्यवस्थापन मिलाउनेछ । सम्झौता भंग गर्नु परेमा कम्तीमा दुई महिना अगाडि जानकारी गराउनुपर्नेछ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा सहयोग गर्न मेयर नागेश कोइरालाले महानगरवासीलाई आग्रह गर्दै आएका छन् ।
प्रयोगविहीन खाली जग्गामा पार्किङ व्यवस्थापन गरेर बजार क्षेत्रको ट्राफिक समस्या समाधान गर्ने महानगरको योजना छ । सोही योजनाअन्तर्गत महानगरले जलजला हल उत्तरमा रहेको खाली जग्गामा पनि पार्किङको व्यवस्थापन गरेको छ । अतिथिसदन दक्षिण–पूर्वमा पनि पार्किङका लागि तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए । यस्तै वर्षौंदेखि महानगरलाई तिर्नुपर्ने कर नतिरी खाली छाडेका जग्गामा पनि महानगरले पार्किङ व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी खाली छाडेका जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यतामा ह्रास आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्