२६ बैशाख २०८१, बुधबार

प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलरेटर कार्यक्रम शुरु हुने

संवाददाता

विराटनगर । प्रदेश नं. १ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलरेटर कार्यक्रम शुरु हुने भएको छ। सहभागी हुन आकांक्षी उद्यमीहरूका लागी आवेदन खुला गरिएको विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । प्रदेश १ मा सम्भावना तथा अवसरका क्षेत्रमा विभिन्न लगानीका मोडल प्रयोग गरी लगानी प्रवद्र्धन गर्न लगानी प्राधिकरण, प्रदेश नं. १, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, र आध्यन्त फन्डम्यानेजमेन्ट बीच औपचारिक समझदारी गर्ने प्रकृया अगाडी बढेको सोही अबसरमा जानकारी दिईएको थियो ।
एक्सिलरेटर कार्यक्रमले प्रदेश नं. १ बाट चुनिएका कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानीमा पहुँच पुर्याउन सहयोग गर्ने जानकारी दिईएको थियो । आध्यन्तका संस्थापक मनोज पौडेलले प्रदेश १ बाट यो कार्यक्रम शुरु गरिएको बताए । प्रदेश नं. १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी प्रदेश भएको उनले जानकारी दिए । यस प्रदेशमा उपलब्ध स्रोतहरूको समुचित उपयोग गरे समृद्ध प्रदेश बनाउन सकिने ठूलो अवसर रहेको जानकारी दिईएको थियो । ‘उचित व्यवसायिक परामर्शको अभावमा यो अवसरलाई ठोस परिणाममा बदल्न सकिएको छैन, उनले भने, यस सन्दर्भमा कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानी योग्य बन्न मद्दत गर्नेछ ।’ प्राप्त आवेदनहरूबाट १० वटा उद्यमीहरुलाई छनौट गरी १२ हप्तासम्म कृषि उद्यमीहरूलाई पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिने पौडेलले जानकारी दिए । उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले सम्भावना बोकेका कृषि–उद्यमीहरूको विज्ञ तथा उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्ने उद्देश्य समेत राखेको बताए । प्रदेश१ मा उपलब्ध स्रोतहरूको व्यवसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा राखिएको राउृतले बताए ।
यस अघिका एक्सिलरेटर कार्यक्रमहरू संघिय राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासो बीच आध्यन्त एक्सिलरेटर कार्यक्रम काठमाडौ बाहिर, प्रदेश नं. १ लाई केन्द्रित गरेर हुन लागि रहेको हो। यस बाहेक सार्वजनिक(निजी साझेदारीको मोडलमा एक्सिलरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको हो जसमा प्रदेश सरकारको तर्फबाट लगानी प्राधिकरण र निजी क्षेत्रकोे तर्फबाट छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १को सहकार्य रहेको छ।
प्रदेश १ लगानी प्राधिकरणका कार्यकारी डा सरोज कोईरालाले प्रदेश १ मा संयुक्त कार्यक्रम गरिएकोले यसले प्रदेशलाई फाईदा पुग्ने बताए । यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक पर्यावरण भन्दा बाहिरका सहयोग र स्रोतहरू, र सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जालसम्म पहुँच समेत प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्