०८ बैशाख २०८१, शनिबार

फागुन ६ देखि मोरङको सुन्दरहरैंचामा स्काउटको संयुक्त क्याम्प संचालन हुने 

संवाददाता

विराटनगर । आगामी फागुन ६ गतेदेखि मोरङको सुन्दरहरैचामा नेपाल स्काउटको संयुक्त ट्रेनिङ क्याम्प संचालन हुने भएको छ । मोरङका सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी, लेटाङका स्थानीय स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनामा  ३ रात ४ दिनको क्याम्प संचालन हुन लागेको हो ।
संयुक्त ट्रेनिङ क्याम्प मूल समारोह समितिका संयोजक बादल देवानले आज विज्ञप्ति जारी गर्दै स्काउटहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्न र स्वअनुशासनको अनुभुती गराई विद्यार्थीहरुको आत्मविश्वासमा समेत वृद्धि गराउने उद्धेश्यका क्याम्प संचालन गर्न लागेको उल्लेख गर्नु भएको छ ।  “आत्मविश्वासी, अनुशासित र साहसीक – म” भन्ने भावनाका साथ आयोजना गर्न लागिएको क्याम्पमा प्रदेश १ का १२ सय स्काउटहरूलाई सहभागी गराईने बताइएको छ ।
२०७६ फागुनमा बेलबारीको एम्ब्रीयो खेल मैदानमा मोरङ र झापाका ६ विद्यालयका ३५० स्काउटहरू सहभागी गराई क्याम्पको पहिलो संस्करण गरेको स्मरण गराउँदै संयोजक देवानले यस पटक प्रदेश १ का  विभिन्न पालिकाका सामुदायिक तथा निजी विद्यालयहरुमा सञ्चालित स्काउट ट्रुपबाट १२०० स्काउटहरुलाई सहभागी गराउने लक्ष्य राखेको बताउनु भएको छ ।
 यस्तै क्याम्पमा विभिन्न क्रियुका १ सय जना  रोभर तथा रेञ्जरहरु सेवादलका रुपमा खटिनेछन् भने करिब ५० जना स्काउट मास्टर तथा लिडरहरुको सहभागिता रहनेछ । क्याम्पमा साहसिक तथा आत्मविश्वास बढाउने र विपत व्यवस्थापनका लागी सहयोगी हुने विभिन्न ५३ वटा वेसहरु रहनेछन् ।
क्याम्पमा स्काउट बाहेकका अन्य विभिन्न सामुदायिक तथा निजी विद्यालयका स्काउटमा आवद्ध नभएका विद्यार्थीहरुलाई समेत एक दिनको भ्रमण पासको व्यवस्थापन गरी २००० विद्यार्थीहरुलाई क्याम्प भ्रमण गराई स्काउटको गतिविधिको जानकारी दिइने देवानले उल्लेख गर्नुभएको छ ।  स्काउट भाइबहिनीहरुलाई थप जीवन उपयोगी सीप प्रदान गर्दै नयाँ सदस्यहरु वृद्धि गर्न क्याम्प फलदायी हुने आयोजकको विश्वास छ ।
बालबालिकाको चारित्रिक, शारीरिक एवम् नेतृत्व बिकास, स्वावलम्बी, अनुशासित, चरित्रवान राष्ट्र सेवक तयार पार्दै स्वास्थ्य सचेतना, विपद व्यवस्थापन, सामाजिक विकृती र अन्धविश्वास हटाउन जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न योग्य नागरीक बनाउने मुख्य लक्ष्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्