१६ चैत्र २०८०, शुक्रबार

विराटनगरको हृदेन्द्र पार्क निर्माणको प्रक्रिया सुरु

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको छ । सोही अध्ययन प्रतिवेदनका आधारमा महानगरले पार्क निर्माण गर्नेछ । मंगलबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । ६ कठ्ठा क्षेत्रफलमा फैलिने पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्वीमिङपुल, जीपलाइन, भुलभुलैया, पार्किङ, कफीसप, फाउन्टेनलगायतका सुविधा हुनेछ ।
सो क्रममा मेयर कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताए । कोइरालाले १० दिनभित्र पार्कको अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशनसमेत दिए । प्रतिवेदनले अन्तिम रुप लिएपछि ठेक्का प्रक्रियामा गएर निर्माण सुरु हुनेछ । योजना महाशाखा प्रमुख भरत न्यौपाने, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतले अध्ययन प्रतिवेदनलाई केही परिमार्जन गर्न सुझाव दिए । सो पार्क निर्माणका लागि महानगरले चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्