१५ चैत्र २०८०, बिहिबार

विराटनगरमा ब्यवसायीलाई ओलीको सन्त्वना, ‘समस्या आयो भन्दै आत्महत्याको बाटो रोज्नु गलत हो, तपाईहरु यस्ता बिषयको चर्चा नगर्नुस्’

संवाददाता

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले स्थापनाको डेढ बर्षमै आयोजना गरेको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ को बिहीबार भव्य रुपमा उद्घाटन भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गरेका छन् ।
ओलीले अन्य शहरहरुको तुलनामा विराटनगर औद्योगिक व्यवसायिक रुपमा पछि परेको भन्दै अब त्यस्तो छुट नभएको बताएका छन् । उनले अहिलेको सरकार उद्योगी व्यवसायीहरुको कुरा सुन्न तयार रहेको भन्दै डेढ बर्षसम्म धरासायी बनेको मुलुकको अर्थतन्त्र अब लयमा फर्किने बताए ।
अहिलेको सरकार बनेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तनहरु हुन थालेको ओलीले दाबी गरे । सरकारले चालेका ठोस कदमका कारण अर्थतन्त्र सहि दिशामा अघि बढेको उनले बताए ।
आर्थिक क्षेत्रको बिषयमा कुरा गरेर जुवारी खेल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुका उपयुक्त सुझावहरुलाई सरकारले ग्रहण गर्ने बताए । सरकारको सवैभन्दा ठुलो दलको नाताले आफ्नो पार्टी सरकारमा सहभागी भइरहेको अवस्थामा उद्योगी व्यवसायीहरुको समस्या समाधान हुनेमा विश्वस्त हुन आग्रह गरे ।
‘अहिलेको सरकार भन्दा अगाडि अत्यन्तै बेथितीको अवस्था थियो, यो सरकार बनेको सवा महिनामै सकारात्मक कदम चालिएको छ, अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन ठोस काम भएको छ’ ओलीले भने, ‘सरकारको कुराले मात्रै उद्योगीहरुको च्यूरा चैं भिज्दैन, उद्योगी व्यवसायीहरुले पनि अनुपयुक्त मागहरु ल्याउनु हुँदैन, अहिलेको सरकारले सवैको कुरा सुन्छ ।’
पूर्वप्रधानमन्त्री ओलीले काममा प्रतिष्पर्धा गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । एमालेले चुनावताका सार्वजनिक गरेको घोषणापत्रका २० वटा ग्यारेन्टीहरुलाई अहिले सरकारमा भएको हिसावले कार्यन्वयन गर्ने बताए । प्रदेश १ मा गुराँसको तेलको ठुलो सम्भावना भएकोले उद्योगी व्यवसायीहरु जागरुक भएर लगानीको वातावरण खोज्न उनले आग्रह गरे ।
विराटनगर राजनीतिक रुपमा जागरुक थलो भएको भन्दै आर्थिक रुपमा पनि अघि बढ्नुपर्नेमा जोड दिए । ओलीले विगतको सरकारलाई नालायक भन्दै आलोचना पनि गरे । विगतको सरकारले आर्थिक क्षेत्रलाई निराशाजनक बनाएको आरोप लगाउँदै उनले भने, ‘डेढ बर्ष नालायक सरकार बन्यो, आर्थिक क्षेत्रमा यस्तो अवस्था कहिल्यै थिएन ।’ समस्या आयो भन्दै आत्महत्याको बाटो रोज्ने बिषय निकै दुखद भएको उनले बताए ।
आफ्नो राजनीतिक जीवनमा भोग्नु परेको जेलनेलको दृष्टान्त दिंदै पूर्वप्रधानमन्त्री ओलीले हरेक समस्याका विरुद्ध लड्न सक्ने हिम्मतका साथ उद्योगी व्यवसायीहरु उभिनु पर्ने बताए । त्यसका लागि सरकार पनि उद्योगीहरुको साथमा रहेको भन्दै सान्त्वना दिए । साथै निजी क्षेत्र पनि स्वस्थ्य हिसावले अघि बढ्दै कर संकलनमा सहयोग गर्न आग्रह गरे । ओलीले उद्योगी व्यवसायीलाई आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्न आग्रह गरेका छन् । मानिसको जीवनमा संकट आउने भएकाले त्यसको डटेर समाधान गर्नुपर्ने बताए । ‘प्रतिकूल अवस्था छ भन्दैमा आत्महत्याको बाटो रोज्नु गलत हो, उनले भने, म पनि जीवनमा ठूलो कष्ट सहेर यहाँसम्म आइपुगेको हुँ, म पनि डेढ महिनासम्म चिसो भुइँमा सुतेर बसेको मान्छे हो ।’ उनले आफ्नो बारेमा सुनाउँदै आफुले कुनै ओढ्ने ओछ्याउने बिना सुत्दा पनि पुलिसले बुटले स्मरण गराए । ‘त्यस्तो अवस्थामा पनि मैले आत्महत्याको बाटो रोजिन, उनले भने, १४ वर्ष जेलनेल भोगे पनि देशका लागि केही गर्छु भन्ने अठोटले आत्महत्याको बाटो नरोजि परिस्थितिको सामना गरेँ ।’
व्यवसाय गर्ने मान्छेहरू कहिले लडिन्छ, कहिले ढलिन्छ, कहिले घाटा–नाफा हुन्छ, तर आत्तिएर मात्र केही नहुने र धैर्य गर्न पर्ने ओलीले बताए ।
ब्यवसायीलाई सम्झाउँदै ओलीले भने, ‘यस्ता खाले सन्देशले मानिसहरूमा गलत खालको उत्प्रेरणा जानसक्छ । तपाईंहरुले नै कमसेकम यस्तो चर्चा नगरिदिनुहोस् । प्रतिकूल अवस्थामा संघर्ष गर्न सिक्नुपर्छ ।’

 

यहाँ कमेन्ट गर्नुहोस्