०६ बैशाख २०८१, बिहिबार

सीएनआई एक्स्पोमा आज मंगोलियन हर्टको प्रस्तुति

संवाददाता

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन सोमबार साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ । राजु लामा त्यस्ता पपस्टार हुन्, जसले नेपाली म्यूजिकमा पप संगीगलाई उचाईमा पु¥याइदिए ।
उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा म जाँदा, ओइ नाना, सायद तिम्रो बाटोमा, गाजलु टिका, तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ’ जस्ता गीत अहिलेपनि उतिकै चर्चित रहेका छन् ।
राजु लामाले पपसँगै नेपाली संगीतमा २५ बर्ष विताइसकेका छन् । सातवटा बढि एल्बमबाट उनले दर्जनौं गीत स्रोता र दर्शकका लागि दिइसकेका छन् ।
लामा त्यस्ता लोकप्रिय म्यूजिक स्टार हुन्, जसले संगीतमा निरन्तरताको इतिहाँस हुँदैन भन्ने सोचलाई नै परिवर्तन गरिदिएका छन् ।
लामाले विराटनगरकै स्टेजमा सम्भवत् पहिलो पटक प्रस्तुति दिन लागेका हुन् । उनका फ्यानहरुले नै पहिलो पटक राजुलाई स्टेजमा प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिल्न लागेको बताउने गरेका छन् ।
एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ देखि सुरु गरेको एक्स्पो २८ गतेसम्म अर्थात लगातार १० दिनको निरन्तरता दिइरहेको छ ।
पाँचौं दिन सोमबार राजु लामाले आधुनिक नेपाली पप म्यूजिकका लाखौं स्रोतालाई जाँदै गरेको जाडो छिट्टै छुट्ने गरी तताइदिने विश्वास गरिएको छ । एक्स्पोको हरेक साँझहरुमा यसअघिका प्रस्तुतिहरुले पनि रेकर्ड कायम गरिसकेको आयोजकले जनाएको छ ।
एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा आइतबारदेखि त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको आयोजकको दाबी छ ।
९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । ९ कक्षा माथिका विद्यार्थी र अरु अवलोकनकर्ताहरुका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै रहने छ ।
टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा सीएनआई कोसी एक्स्पो २०७९ जारी छ ।

यहाँ कमेन्ट गर्नुहोस्