१३ बैशाख २०८१, बिहिबार

मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने

संवाददाता

विराटनगर । मोरङका स्थानीय तहका प्रमुख-उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आयोेजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाईने गरेतापनि सञ्चार क्षेत्रको खवरदारी आवस्यक रहेको बताए । कार्यक्रममा सहभागी बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई, ग्रामथान गाउँपालिका उपप्रमुख गुणावतीदेवी चौधरी र कानेपोखरी गाउँपालिका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाए । उनीहरुले आ–आफ्नो पालिकाले गरेका राम्रा कामहरुको पनि विवरणहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङ अध्यक्ष संजीव खनालले स्थानीय तहको योजना निर्माण प्रकृयालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले बहस, छलफल र समाचारहरु प्रकाशन तथा प्रसारण गरेर विषयहरु उठाउन सहयोग गर्ने बताए । पत्रकार महासंघले गरेको छलफलले स्थानीय तहहरुको योजना निर्माणलाई सहयोग पुग्ने बताए । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टले प्रस्तुत गरेको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन संचार क्षेत्रको भूमिका’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्