१५ बैशाख २०८१, शनिबार

१ करोड बढीको लागतमा बन्यो विराटनगरमा आर्ट अफ लिभिङको भवन

संवाददाता

विराटनगर । द आर्ट अफ लिभिङ विराटनगरले नेपालमै पहिलो पटक आफ्नै भवन निर्माण गरेको छ ।
विराटनगर ५ को कोशी बहिरा मावि नजिक डेढ कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरेको सम्पन्न गरेको हो । १ करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको भवनको आगामी शनिबार महाशिवरात्रीको अवसरमा पारेर उद्घाटन गर्ने जनाईएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, द आर्ट अफ लिभिङ फाउण्डेशनका केन्द्रीय अध्यक्ष एसके सिंह र भारत बैंङलोर आश्रमका स्वामी पूर्ण तेजले संयुक्त रुपमा भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
भवन निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्रद्धारा सम्मानित गर्ने कार्यक्रम रहेको द आर्ट अफ लिभिङ विराटनगरका संयोजक शेरबहादुर श्रेष्ठले जानकारी दिए । भवन उद्घाटनसँगै महाशिवरात्रीको अवसरमा महारुद्र पुजा भवन परिसरमा आयोजना गरिएको उनले जानकारी दिए । पुजामा स्वामी पूर्णतेजको उपस्थिति रहने श्रेष्ठले बताए । द आर्ट अफ लिभिङले सामाजिक क्षेत्रका विभिन्न कार्यहरु पनि गर्दै आईरहेको छ । विशेषगरि बाढी पहिरो, आगलागी, शितलहर लगायतका कारणबाट प्रभावितकोलागि सहयोग गर्दै आएका श्रेष्ठले बताए । आर्ट अफ लिभिङको कोर्ष पुरा गरेका ५ हजार बढी सदस्य विराटनगरमा रहेको उनको भनाई छ।
द आर्ट अफ लिभिङ फाउण्डेशन एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था हो । यसको शाखा १८० देशहरूमा रहेको छ । रविशंकरद्वारा सन् १९८१ मा संस्थापित द आर्ट अफ लिभिङ स्वयंसेवी संस्था हो ।

यहाँ कमेन्ट गर्नुहोस्