०८ बैशाख २०८१, शनिबार

औषधी उपचारमा नागरिकलाई दुखदिने १० जना दलाल विराटनगरबाट पक्राउ

संवाददाता

विराटनगरबाट बिचौलियाको नाममा प्रहरीले पक्राउ गरेका १० जना

विराटनगर । औषधी उपचारमा बिचौलीयाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटेर नागरिकलाई गलत सुचना फैलाउने १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन’ जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याउने गरेको गुनासोका आधारमा १० जना बिचौलीयालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । यस्ता ब्यक्तिले आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि लग्ने, सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख दिने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको थियो । नागरिकलाई सँधै हैरानी दिने गरेको आधारमा प्रहरले यस अघि २ जनालाई पनि पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ३ जनालाई कोशी अस्पताल अगाडीबाट नीजि अस्पतालमा लग्नको लागि बिचौलियाको काम गर्ने रहेका छन् भने अन्य ७ जना नोबेल मेडिकल कलेज अगाडी बसेर नागरिकलाई हैरानी दिने मध्येको भएको डिएसपी श्रेष्ठले बताए । यसरी पक्राउ पर्नेमा सुनसरीको दुहवी ६ का ५४ बर्षीय श्रीराम चौधरी, सिरहाका २० बर्षीय सुर्य नारायण यादव र मोरङको कटहरी गाउँपालिका वडा नं.–३ बस्ने बर्ष ४२ को मो.जलिदलाई कोशी अस्पताल अगाडीबाट पक्राउ गरेको हो । विराटनगर महानगरपालिका वडा नं.–७ बस्ने बर्ष १८ को विश्वास मण्डल, विराटनगर महानगरपालिका १४ बस्ने बर्ष २३ को रोशन गुप्ता, बिराटनगर ४ बस्ने बर्ष १९ को सुजित यादव, विराटनगर ५ बस्ने बर्ष २२ को फिरोज रोय, बर्ष २१ को समिर खान, बर्ष १८ को सरोज खान र विराटनगर ३ बस्ने बर्ष १८ को अमित यादवलाई नोबेल मेडिकल कलेज अगाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले अभद्र ब्यवहारमा मुद्दा चलाउने तयारी गरेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्