०८ बैशाख २०८१, शनिबार

बालक हत्याको आरोपमा श्रीमान–श्रीमती पक्राउ

संवाददाता

विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पासवान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेको प्रहरीले जनाएकोछ । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पछि उनको खोजी शुरु भएको थियो । आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचनाको आधारमा प्रहरीले फागुन १७ गते त्यहाँ उत्खनन् गर्दा शब फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
हत्या गरी गाडेको अवस्थामा बालकको शव फेला परेसंगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका बिरेन्द्र पासवान र उनकी श्रीमती डल्ली पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । बालकको हत्याको आरोपमा पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको कार्कीले बताएका छन् । घरायसी रिसिईबीका कारण बालकको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्