०१ बैशाख २०८१, शनिबार

नेपाली सेनाले बनायो ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’

संवाददाता

विराटनगर । नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी महानगरलाई हस्तान्न्तरण गरेका हुन् ।
दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा भएको संग्रहालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । संग्रहालय निर्माण गरेर महानगरलाई हस्तान्तरण गरेकोमा नेपाली सेनाको कामको प्रशंसा गरे ।
संग्रहालयको संरक्षणका लागि स्थानीयवासीको साथ सहयोग आबश्यक हुने नेपालीले सेनाले जनाएको छ। दरबार क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण महानगरपालिकाले गर्ने मेयर कोईरालाले बताए । चालु आर्थिक वर्षमा विराट राजाको दरबार क्षेत्रको विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै कोईरालाले बजेटले घेरा बारा लगायतका संरचना निर्माण गरिने बताए ।
नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ १९ लाख ७६ हजारको लागतमा संग्रहालयको काम शुरु गरेको थियो । सैनिकहरुको श्रमदानमा एक कठ्ठा जग्गामा वि.सं. २०७९ कात्तिक २१ गतेबाट निर्माण कार्य सुरु गरी चार महिनाको अवधिमा उक्त सङ्ग्रहालयको निर्माण कार्य सम्पन्न गरि महानगरलाई हस्तान्तरण गरेको हो ।
सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्राहरु राखिएका छन् । महाभारत कालीन पुरातात्वीक बस्तु तथा सामाग्रीहरुको संरक्षणको लागि संग्रहालयमा ती सामाग्री संग्रहित गरिने बताईएको छ। महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किवदन्ती रहेको छ । पाँच पाण्डव र उनीहरुको श्रीमती द्रोपति गुप्तबासको दौरानमा नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको किंवदन्ती छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डबाट संरक्षण गर्दै आइरहेको छ ।

वि.सं. २०२७ सालमा नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएपश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो ।
नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले ऐतिहासिक सङ्ग्राहलय स्थानीय जनताको सम्पत्ति भएको बताए । संग्रहालयको स्थानीयले नै संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए । नेपाली सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत संग्रहालय निर्माण गरेको जानकारी दिँदै यसको संरक्षणको दायित्व स्थानीयको हुने बताए ।
कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महानगरका उपप्रमुख शिल्पा निराला कार्की, भैरव गणका गणपति अमृतबहादुर थापामगर, वडा नं. १८ का अध्यक्ष जितेन्द्रकुमार साह लगायत कार्यक्रममा सहभागी थिए ।

यहाँ कमेन्ट गर्नुहोस्