२० बैशाख २०८१, बिहिबार

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

संवाददाता

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ ।
१७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्व्य समिति मोरङका प्रमुख अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार एक विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्दै महानगरपालिका एक कदम अगाडि हुनु पर्नेमा काम गरेर देखाएकोमा प्रशंसा गरे । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गरे । उनले विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । महानगरलाई डिजिटलाइज गरेर नयाँ जन्मिने बालबालिकाहरुको अभिलेख राख्नुपर्नेमा उनले सुझाव दिए ।
मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राई, विराटनगर महानगरपालिकाकाकी उपमेयर शिल्ला निराला कार्की, सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार राय लगायतले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता हुनु खुसीको कुरा भएको बताए ।
जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई अगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्