२० बैशाख २०८१, बिहिबार

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड, आन्तरिक आय कमजोर

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट सार्बजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै महानगरपालिकाले वित्तीय समानिकरण अनुदान मार्फत ३७ करोड २६ लाख ८८ हजार, सङ्घीय सरकारबाट ३४ करोड ८६ लाख, प्रदेश सरकारबाट २ करोड ४० लाख ८८ हजारको  आय प्रस्तुत गरेको हो ।  त्यस्तै राजश्वबाट प्राप्त राजश्व  ८० करोड २४ लाख ३७ हजार  अनुमान गरिएकोमा मूल्य अभिवृद्धि कर अन्तःशुल्कबाट २० करोड ७४ लाख, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५५ करोड, सवारी साधन करमा ४ करोड ८ लाख ५६ हजार र मनोरञ्जन कर तर्फ ४१ लाख ८१ हजारको आय अनुमान गरिएको छ। महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्तरिक आम्दानी ९९ करोड ५० लाख हुने जानकारी गराइएको छ।  सङ्घीय सरकारको सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी कुल ८४ करोड ३८ लाख रहेको छ भने  प्रदेश सरकार तर्फ सशर्त अनुदान चालु र सशर्त अनुदान पुँजीगत गरी २ करोड १० लाख ७५ हजार हुने अनुमान गरिएको छ। उपप्रमुख कार्कीले आगामी आर्थिक बर्षकोलागि अन्य संघ संस्थासँग सम्बन्धित ३ करोड, आन्तरिक ऋण १० करोड, जनसहभागिता १० करोड र नगद मौज्दात २ करोड सहित ३ अर्ब २८ करोड ५० लाखको बजेट प्रस्तुत गरिन् ।
आन्तरिक आय कमजोर
विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्षकोलागि आन्तरिक राजश्व  १ अर्ब ६४ लाख अनुमान गरिएकोमा साउनदेखि जेष्ठ मसान्तसम्म ५१ करोड ६५ लाख ९४ हजार ९१९ रुपैयाँ मात्र यथार्थ आय सङ्कलन भएको छ। राजश्व बाँडफाँडबाट ९५ करोड ५५ लाख ५७ हजार अनुमान गरिएकोमा ३५ करोड २३ लाख ५ हजार ९  सय ७७ रुपैयाँ मात्र प्राप्त भएको कार्कीले जानकारी दिइन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण संंघीय सरकार तर्फ १ अर्ब ३५ करोड २९ लाख ६ हजार अनुमान गरिएकोमा  १ अर्ब २९ करोड ५८ लाख ६ हजार प्राप्त भएको महानगरले जनाएको छ। सामाजिक सुरक्षा कार्यक्रम तर्फ सङ्घीय सरकारबाट प्राप्त ६२ करोड ८२ लाख ८५ हजार ६ सय कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भुक्तानी हुने हुँदा महानगरको आयमा नदेखिएको उल्लेख गरिएकोछ । प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ९ करोड ४० लाख ४६ हजार रुपैयाँको अनुमान गरिएकोमा ७ करोड २० लाख ३५ हजार ११५ रुपैयाँ प्राप्त भएको छ।  नगर विकास कोषबाट सापटीबापत ८ करोड ५३ लाख अनुमान गरिएकोमा यो वर्ष नलिएकोले आगामी आर्थिक वर्षमा लिइने बजेट मै उल्लेख गरिएको छ।  जनसहभागिताबाट १० करोड ११ लाख ७६ हजारको अनुमान गरिएकोमा ६ करोड ७७ लाख २९ हजार ९३९ रुपैयाँको मात्र जनश्रमदान भएको देखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्