१४ बैशाख २०८१, शुक्रबार

‘धेरै गर्न सकिन होला तर मैले गलत गरेको छैन’

संवाददाता

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राई

विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा धेरै गर्न नसकेपनि नराम्रो नगरेको प्रतिक्रिया दिएका छन् । आफ्नो फेसबुक पेज मार्फत आफ्ना भनाई सार्बजनिक गर्दै राईले संघीयताको पहिलो अनुभव, अभ्यास र प्रयोगका सुरुवाती दिनहरु, शुरुवाती बर्षहरु सजिला नभएको उल्लेख गरेका छन् । शुरुवाती दिनहरु बर्षहरु सजिला थिएनन् तर हामी दृढ संकल्प र अठोट सहित महत्वपुर्ण उपलब्धी र सफलताहरुका साथ अगाडी बढ्यौ, उनले लेखेका छन्, मलाई गर्ब छ, धेरै गर्न सकिन होला तर मैले गलत गरेको छैन ।’ आफुले आफ्नो कार्यकालमा राम्रो गर्दागर्दै पनि पार्टीलाई क्षती हुन नदिन र बलियो बनाउनको लागि आफ्नो प्रस्तावमा भीम आचार्यलाई मुख्यमन्त्री बनाएको बताएका छन् ।
‘देश प्रदेशमा अराजकता र अस्थिरता पैदा नहोस पार्टी एकताको पक्ष मजबुत होस, पार्टी भित्र उत्पन्न समस्याको ठोस समाधानका लागी लामो गन्थन मन्थन पछि कार्यन्वयनमा ल्याइएको १० बुँदे लाई अक्षरश पालना गर्न र गराउनको लागी एकमुष्ठ तेजिलो गति पैदा हुन सकोस भनेर त्यस मुल्यमा सेक्रिफाइस स्वरुप आजै मैले दलको नेता र पदबाट राजीनामा गरेको छु, उनले सामाजिक संजालमा लेखेका छन्, मेरै प्रस्तावमा दलको नेता र दोश्रो मुख्यमन्त्रीको रुपमा दलका सदस्य भीम आचार्य चयन हुनु भएको छ ।’
आफुले नेतृत्व गरेको दलमा पुर्ण बहुमत रहदा रहदै पनि देशको बिकसित राजनितीक परिस्थिती, पार्टी भित्र देखा परेको बिग्रह टुटफुट अनि त्यसको प्रभाव र असरबाट प्रदेश नं १ मा नेकपा (एमाले) लाई क्षति पुग्न नदिन, सरकारको स्थायित्वलाई सुनिश्चित गर्न, देशकै ठुलो दल नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारलाई कमजोर हुन नदिन अहिलेको बाटो रोजेको उनले उल्लेख गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्