१६ बैशाख २०८१, आइतबार

विराटनगरमा डेंगी रोकथाम र नियन्त्रणको अभियान सुरु

Click Biratnagar

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगी रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगी सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रवारदेखि सुरु गरेको हो । कार्यवाहक मेयर शिल्पा निराला कार्कीको नेतृत्वमा अभियान सुरु भएको हो ।  वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।
१९ वटै वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण केही वडामा मात्रै अभियान सुरु भएको छ।
प्रतिकूल मौसमका बाबजुद पनि जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा डेंगीको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।
टायर, ड्रम, गमला, फ्रिज, कुलर सहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकोले सचेतना मूलक अभियानलाई व्यापक बनाइएको कार्यवाहक मेयर कार्कीले जानकारी दिइन् ।
मौसम अनुकूल हुने बित्तिकै हप्तामा दुई दिन सबै वडामा सरोकारवालाहरूको उपस्थितिमा अभियान सञ्चालन गरिने कार्कीले जानकारी दिइन् ।  कार्कीले महानगर मातहतका कार्यालयहरूमा हरेक दिन बिहान १० देखि आधा घण्टा ‘खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गरिने बताइन् ।
खोज र नष्ट गर अभियानमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, वातावरण तथा सरसफाइ शाखा प्रमुख पुनम दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी छेदी लाल कामतसहित कर्मचारी, स्वास्थ्य स्वयंसेविका, प्रहरी, जनप्रतिनिधि सहभागी थिए ।
धरानलगायतका स्थानमा डेंगीको संक्रमण फैलिएपछि महानगरले डेंगीको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको छ । यसअघि महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाई शाखाका कर्मचारीसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ।  महानगरले डेंगी रोकथामकालागि महानगरका १९ वटै वडामा खोज र नष्ट गर अभियानमा ५ हजार  स्वयंसेवी तथा आमा समूह परिचालित छन्  ।

यहाँ कमेन्ट गर्नुहोस्