१७ बैशाख २०८१, सोमबार

विराटनगर जेसिजकोे मानवीय सेवा सप्ताह : सरसफाइ गर्दै सकियो

संवाददाता

विराटनगर । विराटनगर जेसिजको मानवीय सेवा सप्ताह २०२३ समापन भएको । साउन १५ गतेदेखि सुरु भएको अभियान शनिवार संसारी माई विराटनगरमा सरसफाइ गर्दै सकिएको हो ।  विराटनगर जेसीजको आयोजनामा  एक हप्ताको मानवीय सेवा सप्ताह   आयोजना गरेको थियो । स्वच्छ, व्यवस्थित संसारीमाईस्थान नाम दिएर शनिवार सरसफाइ गरिएको विराटनगर जेसीजका अध्यक्ष  अभिनास थापाले जानकारी दिए ।  मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसद  योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  विराटनगर महानगरपालिका वडा नं १० का अध्यक्ष  अर्जुन गिरीको उपस्थितिमा विराटनगरको संसारीमाईस्थान मन्दिर परिसरमा  सरसफाइ, फलैँचा वितरण गरिनुका  साथै चौतारा मर्मत सम्भार गरिएको थियो ।
संसारीमाईस्थानमा बिगत केही समयदेखि जेसीजले सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।  गमलामा बिरुवा रोपेर त्यसको निरन्तर संरक्षण, सर्वसाधारणलाई बस्नका लागि फलैँचाको मर्मत संहार गरी सुन्दर बनाइएको अध्यक्ष थापाले बताए ।  आगामी दिनमा सन्ध्या आरतीका लागि समेत मन्दिर व्यवस्थापन समितिसँग छलफल गरी  पहलकदमी लिइने थापाले बताए ।
सांसद मण्डलले विराटनगर जेसीजले गरेका अभियानले आफूलाई प्रभावित गरेको र जेसीजको यो अभियानको सदनमा समेत आफूले चर्चा गर्ने बताए ।  जेसीजका कार्यहरूलाई राष्ट्रिय स्तरमा चिनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे । वडा अध्यक्ष गिरीले  आफ्नो वडामा रहेका सम्पदाको संरक्षणमा जेसीजले गरेको कार्यलाई आफूले नजिक बाट नियालेको बताउँदै आगामी दिनमा समेत सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे ।
के के भए अभियानमा
जेसिजले विराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुबाहरूलाई खिर खुवाएर तथा लत्ता कपडा वितरण गरेर साउन १५ देखि अभियान सुरु गरेको थियो ।  दोस्रो कार्यक्रम शैक्षिक कोसेली वितरण कार्यक्रम अन्तरगत विराटनगर वडा नम्बर ३ मा रहेको आर्थिक अवस्था कमजोर रहेका  बालबालिका अध्ययन गर्ने मदन आधारभूत विद्यालयमा गरेको थियो । त्यस्तै डेंगी बुझौँ, बचौँ र बचाऔँ कार्यक्रम पनि गरिएको  अध्यक्ष थापाले जानकारी दिए ।  ‘साउन १६ मङ्गलवार ऋषिदेव बस्ती मिल्स एरियामा सुरक्षित महिनावारी, सुरक्षित कार्यक्रम गरिएको थियो, उनले भने,  साउन १७ मा जेसी बाल सदनमा एक रक्तदान बचाउँछ ३ बढी को ज्यान र  साउन १८ गते  मोडर्न एरा स्कुल पनि कार्यक्रम गर्न सफल भएका छौँ ।’
स्वस्थ जनता, स्वस्थ नगर साउन १९ शुक्रबार  ऋषिदेव बस्ती घिन घाटमा सम्पन्न गर्ने कार्य योजना भए पनि निरन्तर वर्षाका कारण स्थगित भएको थियो ।  स्वच्छ व्यवस्थित संसारीमाईस्थान कार्यक्रम शनिवार संसारीमाइस्थानमा सम्पन्न भएको छ । सप्ताहव्यापी अभियानमा करिब  ५ लाख बढी खर्च भएको  विराटनगर जेसीजका महासचिव अमित अग्रवालले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्