१६ बैशाख २०८१, आइतबार

विराटनगरको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।
महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।
सुनसरीको धरानलगायतका केही स्थानमा डेंगुको संक्रमण फैलिएपछि महानगरले पूर्वतयारीलाई समेत व्यापक बनाएको छ । यसअघि महानगरको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले विराटनगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगु रोगको किटबाट परीक्षण गर्दा ६ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिसकेको छ । डेंगुको परीक्षण गर्दा निजी स्वास्थ्य संस्था र अस्पतालहरुले १८ सय रुपैयाँसम्म शुल्क लिने गरेको गुनासो आएको थियो । “महानगरसित भएको स्रोत साधनबाट महानगरवासीलाई अधिकतम् सेवा दिने हाम्रो उद्देश्य रहेको छ,” मेयर नागेश कोइरालाले भन्नुभयो, “तत्कालका लागि महानगरपालिका मातहत रहेको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका छौं ।”
महानगरले हरेक शुक्रबार डेंगु खोज र नष्ट गर अभियानसमेत सञ्चालन गर्दै आएको छ । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म १९ वटै वडामा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, समाजसेवी, राजनैतिक दल, विभिन्न संघसंस्थाको सहभागितामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्