१७ बैशाख २०८१, सोमबार

विराटनगरमा महिला उद्यमीका अवसर र चुनौतीको बारेमा अन्तरक्रिया

संवाददाता

विराटनगर । विराटनगरमा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीको बारेमा  अन्तरक्रिया गरिएको छ।  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा उद्यम क्षेत्रका महिलाहरूको उपस्थिति थियो । कार्यक्रममा कोशी प्रदेशको पाँच वटा स्थानीय तह विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका करीब २५ महिला उद्यमीहरू सहित ३५ जनाको सहभागिता थियो ।
सहभागी महिला उद्यमीहरूले उद्यमशीलताको लागि सूचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानुनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकास सम्बन्धी कार्यक्रमहरू पहुँच आधारित हुने र वास्तविक उद्यमीहरू उक्त अवसरबाट वञ्चित भएको बताएका छन् ।
बैङ्क तथा वित्तीय संस्थाहरूबाट भएको कर्जा प्रभाव न्यायोचित नभएको सबै उद्योग प्रतिष्ठानलाई एकै नजरले हेर्ने गरिएकाले पनि लघु तथा घरेलु उद्यमीहरू मर्कामा परेको सहभागी उद्यमी महिलाले बताए ।  सहभागीहरूले व्यवसाय प्रवर्द्धनका लागि स्थापना भएका सङ्घसंस्थामा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएको कारण महिला उद्यमीहरूको आवाज अहिलेसम्म बुलन्द हुन नसकेको  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीले बताइन्  । केसीले सोच, सूचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने बताइन्  ।  महिला उद्यमीहरूलाई व्यवसाय प्रबद्र्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश सदैव तयार रहेको उनले उल्लेन गरिन् ।
कम्युनिटी इन्गेजमेन्ट एन्ड आउटरिच प्रा.लि.का डेप्यूटी टिम लिडर अनिरुद्ध न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकास सम्बन्धी कार्यक्रम र सेवा प्रभावको बारेमा जानकारी गराएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्