१७ बैशाख २०८१, सोमबार

विराटनगर बजारमा दिउँसो मालबहाक सवारी प्रवेश गर्न नपाउने

संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्ग बाहेकका सहायक तथा भित्री सडक खण्डमा १० चक्के वा सोभन्दा बढीका मालवाहक सवारी साधनहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
मङ्गलवार महानगरको समन्वयमा सरोकारवाला सहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालवाहक सवारी सहायक र भित्री सडकमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको हो । सडकको क्षमताभन्दा बढी भार भएका मालवाहक सवारी प्रवेश गर्दा निर्माण भएको संरचना छोटो समयमा भत्किने समस्या बढ्न थालेपछि महानगरले यस्तो निर्णय गर्नुपरेको मेयर नागेश कोइरालाले बताए ।  मेयर कोइरालाको अध्यक्षता तथा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली वडा नम्बर ११ का अध्यक्षसमेत रहेका  ट्राफिक व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठ, महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, योजना महाशाखा प्रमुख अर्जुन थापा, महानगर प्रहरी प्रमुख राजन पौडेल, मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ, ट्रक व्यवसायी सङ्घ, ढुवानी व्यवसायी सङ्घ, ट्रिपर व्यवसायी सङ्घ, यातायात व्यवसायी सङ्घ लगायतका सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति भएको बैठकले ट्रक, ट्रिपर लगायतका मालवाहक ढुवानीका साधनलाई मुख्य राजमार्गसहित सहायक राजमार्ग र भित्री सडकमा समेत लोड अन लोड गर्न नदिने निर्णय निर्णय गरेको छ ।
अबदेखि ढुवानीका साधनले सम्बन्धित ठाउँ र पार्किङ स्थलमा मात्रै लोड अन लोड गर्नुपर्नेछ । बैठकले मुख्य बजार क्षेत्रभित्र निर्माण सामग्री तथा ढुवानीका सामग्री बोकेका ६ चक्केसम्मका मालवाहक सवारी साधनलाई रात्रिकालीन समयमा मात्रै प्रवेश गर्न दिने निर्णय गरेको छ । जथाभाबी लोड अन लोड गर्दा, ढुवानी तथा निर्माण सामग्री बोकेका सवारी प्रवेश गर्दा ट्राफिक व्यवस्थापनसँगै सडक सुरक्षामा समेत समस्या देखिएकाले प्रवेशमा रोक लगाउनु परेको मेयर कोइरालाको भनाइ छ । “विराटनगरलाई महानगरजस्तो बनाउन सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने, “सधैँ गरिरहेको काममा रोक लगाउँदा केही दिन असहज हुनसक्छ । तर यसलाई सबैले कार्यान्वयन गर्नु जरुरी छ । विराटनगर महानगरपालिका मात्रै नभएर प्रदेशको राजधानी पनि हो यसलाई व्यवस्थित बनाउने दायित्व हामी सबैको हो ।” यो निर्णयले सडक सुरक्षासँगै ट्राफिकमा समेत सहयोग पुग्ने मेयर कोइरालाले विश्वास व्यक्त गरे ।

यहाँ कमेन्ट गर्नुहोस्