१५ बैशाख २०८१, शनिबार

विराटनगर महानगरका  धेरै योजना विवादपछि अनुगमन

Click Biratnagar

विराटनगर  । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ ।
बहु वर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थाको बारेमा महानगरपालिकाको टोलले अनुगमन गरेको हो ।
मेयर नागेश कोइराला तथा उपमेयर शिल्पा निराला कार्की सहितको टोलीले निर्माणको अवस्थाको बारेमा अनुगमन गरेको हो । अनुगमनको क्रममा टोलीले विराटनगर–४ स्थित धावा बन्दी (इक्राही)को सडकको समेत अनुगमन गरेको छ । जग्गा विवाद हुँदा सो स्थानमा सडक निर्माण अवरुद्ध भएको छ । टोलीले निर्माण स्थलमै पुगेर स्थानीयसित छलफल समेत गरेको छ । महानगरको प्राविधिकले नक्सा अनुसार नापेर छुट्याए पछि निर्माण सुरु गर्ने स्थानीयसँग  सहमति भएको छ ।  विराटनगर–६ स्थित शान्ति चोक–केशलिया रोड सडकको पनि अनुगमन गरिएको छ।  महानगरको करिब ४ करोडको लागतमा निर्माण भइरहेको  सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । महानगरको आन्तरिक स्रोतबाट निर्माण भइरहेको उक्त सडक विएफएम दक्षिणमा नाला विवाद रहेको छ ।
टोलीले स्थानीय घरधनीहरूसँग  छलफल गरेपछि सडक निर्माण अगाडि बढाउने समझदारी भएको महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्  ।  महानगरको बहु वर्षीय योजना अन्तर्गत प्रधानमन्त्री पार्कसहित ४ करोड बढीको लागतमा निर्माणको चरणमा रहेको छ। त्यस्तै मण्ठापोखरी, रानीपोखरी, बाल उद्यान, सन्ध्याकालीन आरती, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालयलगायत धमाधम निर्माण भइरहेको छ ।
अनुगमन टोलीमा मेयर कोइराला सहित उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा अध्यक्ष मधुबाबु तिवारी, वडा अध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहभागी थिए ।

यहाँ कमेन्ट गर्नुहोस्