१६ चैत्र २०८०, शुक्रबार

नागरिकता पाउनु पर्ने माग राख्दै विराटनगरमा धर्ना

संवाददाता

विराटनगर । संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक आन्दोलन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडि धर्ना दिएको हो । युवाहरुले नागरिकता विद्येयक पारित गर्नुपर्ने, पहिचान कायम गर्नुपर्ने र नागरिकता खोई त सरकार लगायतका प्लेकार्ड सहित धर्ना दिएका थिए । उमेर पुगेका नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुपर्ने उनीहरुको माग छ । नेपालको संविधानमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको भएपनि विभिन्न राजनीतिक कारण देखाउँदै नागरिकता विधेयकलाई अलपत्र पार्न खोजिएको उनीहरुको आरोप छ । नागरिकता विधेयक राजनितिक दलहरुका लागि चुनावी एजेण्डा मात्र बन्दै आएको उनीहरुले औंल्याएका छन् ।
नागरिकताको अभावमा अहिले पनि नेपालका एक तिहाई युवा जनशक्तिको भबिष्य अन्यौलमा रहेको आन्दोलनरत पक्षको भनाईछ। नागरिकताको अभावमा अधिकांश युवाहरु उच्च शिक्षा र रोजगारीबाट समेत बञ्चित हुँदै गएको नागरिकता पिडित संघर्ष समितिका मोरङ जिल्ला अध्यक्ष अजय पौद्दारले बताए । उनले नागरिकता सम्बन्धि विधेयक हालसम्म संसदीय प्राथमिकतामा नपर्नु दुःखद रहेको गुनासो गरे ।
आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि सांकेतिक प्रर्दशन गर्दै युवाहरुले हामीले नागरिकता कहिले पाउने ? हाम्रो बुवाआमा नेपालका नागरिक हामी चैं कहाँका नागरिक ? एउटै बुवाआमाका सन्तानसँग दोहोरो व्यवहार ? भन्दै सरकारका बिरुद्धप्रश्न उठाएका थिए ।
जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन नागरिकता अध्यादेश जारी गरेकी थिईन् । तर राष्ट्रपति भण्डारीद्धारा जारीे ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ राष्ट्रघाती रहेको भन्दै चौतर्फी आलोचना र विरोध हुँदै आएको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्