१३ बैशाख २०८१, बिहिबार

मोरङमा कांग्रेस जिल्ला सभापतिमा यी प्रतिस्पर्धी, रोकियो वडा अधिवेशन

संवाददाता

विराटनगर । नेपाली कांग्रेसको क्रियाशिलता टुंगो नलाग्दा मोरङमा कांग्रेसको वडाको नेतृत्व छान्नको लागि हुने भनिएको निर्वाचन हुन सकेन । मोरङमा क्रियाशिल सदस्यता नआएको कारण चुनाव हुन नसकेको नेपाली कांग्रेस मोरङले जनाएको छ। मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ र निर्वाचन क्षेत्र नम्बर ४ मा देखिएको सामान्य विवादका कारण क्रियाशिलता नआएको मोरङ कांग्रेसले जनाएको छ । भदौ १८ गतेको लागि वडाको अधिबेशन हुने भनेर तय गरिएको भएपनि अन्य जिल्लामा क्रियाशिलता विवाद मिलेका जिल्लाहरुमा आज वडाको नेतृत्वको लागि चुनाव भएपनि मोरङमा स्थगित भएको हो । मोरङ जिल्लामा सामान्य विवादहरु रहेकोमा हल हुन नसकेको कारण देखाउँदै क्रियाशिलता नआउँदा आज हुने भनिएको वडाको निर्वाचन हुन नसकेको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए । केन्द्रबाट आगामी भदौ २० गतेसम्म क्रियाशिल सदस्यताको अन्तिम नामावली आएमा २८ गतेसम्ममा वडाको निर्वाचन हुनसक्ने घिमिरेले बताए । ‘अहिले तत्काल कार्यतालिका अनुसार निर्वाचन हुन नसक्दा अन्यौलता देखिएको छ, उनले भने, यो लामो समयसम्म रहन सक्ने देखिन्न संभवत २० गतेसम्ममा नामावली आयो भने २८ गतेसम्ममा वडाको अधिबेशन गर्न सक्छौँ ।’
बिचमा परेको चाडपर्बका कारण केही ढिला हुनसक्ने पनि उनले संकेत गरे । नेपाली कांग्रेस मोरङले नविकरण गर्नुपर्ने १६ हजार २ सय ७७ र नयाँ क्रियाशिल सदस्यताको लागि १४ हजार २ सय ५५ जनाको नामावली पठाएको थियो । मोरङमा कुल ३० हजार ५ सय ३२ जनाको अहिले लिष्टमा रहेको छ । अहिले भएको नामावलीमा केन्द्रको निर्णय आउँदासम्म केही हेरफेर हुसक्ने भएको कारण अहिलेको तथ्यांकमा तलमाथि पर्नसक्ने जनाईएको छ।
सभापतिमा को ?
नेपाली कांग्रेसको मोरङ सभापतिमा ५ जनाले दाबी गर्दै आएका छन् । चुनावमा दुई पक्षीय देखिने भएपनि अहिलेसम्म ५ जनाले सभापतिमा दाबी गर्दै आएका छन् । दाबी गर्दै आएकामा अहिलेका सभापति डिकबहादुर लिम्बु सहित दिलीप गच्छदार, गोपालमान सिंह, यदुकुमार बिष्ट र मदन संग्रौलाले सभापतिमा दाबी गर्दै आएका छन् । प्रदेशको राजधानी भएकोले पनि यहाँको सभापतिमा जोडबल गर्नेको संख्या धेरै देखिएको हो । अहिलेसम्मको अबस्थालाई हेर्दा जिल्ला सभातिमा दुईजना संभावित दाबेदार बिच चुनावी प्रतिस्पर्धा हुने दाबी कांग्रेसजनको छ । संस्थापन शेरबहादुर देउवाको समुहबाट दिलीप गच्छदर र पौडेल र कोईराला पक्षबाट डिकबहादुर लिम्बुको संभावना बलियो देखिएको छ। उपभापतिमा पनि सर्बसम्मतको संभावना कमजोर देखिएको छ। उपसभापतिको दाबी प्रस्तुत गर्दै आएकाहरुमा भक्तिनाथ माझी, मोदराज घिमिरे, नागेश कोईराला, गोपाल बहादुर थापा र सुबोध कुमारसिंहको चर्चामा छ । त्यस्तै सचिवमा शिव ढकाल, ललीत श्रेष्ठ, सत्यनारायण माझी र बाबुराजा कोईरालाको पनि नाम चर्चामा छ ।

यहाँ कमेन्ट गर्नुहोस्