०७ बैशाख २०८१, शुक्रबार

मानव तस्करी रोक्न जनप्रतिधिको सहयोग खोज्दै माइती नेपाल

संवाददाता

माईती नेपालले सीमा क्षेत्र लक्षित गरेको छलफल

विराटनगर । विराटनगरका महिला जनप्रतिनिधिले मानव ओसारपसार तथा बेचबिखन बिरुद्धमा सीमा क्षेत्रमा हुने शंकास्पद गतिबिधिलाई निगरानी गर्न सके मात्र पनि धेरै समस्या हल भएर जाने बताएका छन् । पहिलो कुरा अभिभावक सचेत हुनु पर्ने र दोश्रो कुरा मानव ओसार पसार तथा बेचबिखनको बारेमा समाजले पनि बुझ्नु जरुरी रहेको उनीहरुको भनाई छ । विगत केही समयदेखि माइती नेपालले सीमा क्षेत्रका किशोरी तथा महिलालाई लक्षित गरि सीमाबाट हुने मानव ओसारपासारको जानकारी दिँदै आएको सन्दर्भमा शुक्रबार महिला जनप्रतिनिधिलाई सीमाबाट हुने मानव तस्करी रोक्ने बारेमा प्रशिक्षण दिएको हो ।
मानव वेचविखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको अवसरमा बिराटनगर महानगरपालिकाको भारतीय सीमासँग जोडिएको वडाका महिला जनप्रतिनिधी र प्रहरीसँग छलफल गरेको हो । छलफलमा विराटनगर महानगरपालिकाको वडा १३, १४, १५, १६, १७ र १८ का महिला जनप्रतिधिहरु सहभागी थिए । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश रावतले सीमा क्षेत्रबाट निगरानी गर्दा गर्दै पनि कतिपय महिला दिदी बहिनी सीमा पार हुने गरेकोले स्थानीयको सहयोग मुख्य हुने बताए । सबैकुरा प्रहरी र सीमा क्षेत्रमा बसेका ब्यक्तिहरुलाई थाहा नहुनपनि सक्ने भएकोले सीमा क्षेत्रका जनप्रतिनिधि मार्फत नागरिकलाई सचेत बनाउन सक्ने हो भने सीमा नाकाबाट हुने आपराधिक गतिबिधिसँगै महिला तथा बालिकालाई सीमा पार गराउने क्रमको विस्तारै अन्त्य गर्न सकिने रावतको भनाई छ।
माइती नेपाल विराटनगरका संयोजक विनोद पोख्रेलले यस अघि किशोरी तथा बालिकालाई लक्षित गरि प्रशिक्षण दिईएकोमा अब जनप्रतिनिधि मार्फत अभियान चलाउँदा सीमा क्षेत्रमा हुने अबैध मानव ओसारपासरमा कमी हुने आशा ब्यक्त गरे । मानव ओसारपसार तथा बेचबिखनको अबस्थाको बारेमा जानकारी दिँदै पोखरेलले नेपालबाट भारतीय बजारमा हुने मानव ओसारपसार मात्र हैन तेश्रो मुलुकमा समेत अबैध महिलाहरुको तस्करी हुने गरेको तथ्यहरु बाहिरिन थालेको बताए ।
जनप्रनिधिले महिलाका समस्याको उजागर गर्दै प्रहरीको भुमिका प्रतिपनि बढी सरोकार राख्नु पर्ने बताएका थिए । माइती नेपालका गीताञ्जली शर्माले सबै भन्दा धेरै जानकारी जनप्रतिनिधिसँग हुने भएकोले महिलासँग सरोकार राख्ने बिषयहरु प्रहरी तथा माईती नेपालसँग समन्वय गर्न आग्रह गरिन् ।

यहाँ कमेन्ट गर्नुहोस्