१४ बैशाख २०८१, शुक्रबार

यी बालिका जो एकदिनका लागि पालिकाको अध्यक्ष बनिन्

संवाददाता

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष बनाइएको छ । ५७ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर एकदिन आर्थिक र प्रशासनिक काम बाहेकका सबै कार्य गर्ने गरी एक दिनको लागि गाउँपालिकाको  अध्यक्ष बनाइएको हो ।

भाद्र २९ गते गाउँपालिकाको नेतृत्वमा बालबालिका भन्ने अभियानलाई पूर्णता दिनको लागि बुढिगंगा गाउँपालिकाको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण मा एक दिनको लागि  १६ वर्षीय सुनिता ऋषिदेवलाई  गाउँपालिकाको अध्यक्ष बनाइएको हो ।

बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र गाउँपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिका स्वम्श स्वरमले अनुभूत गर्नका लागी एक दिन गाउँपालिकाको अध्यक्षको भूमिकामा बालबालिकालाई राखी अनुभव आदानप्रदान गरिएको बुढिगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले बताए ।

बालबालिकाहरूलाई स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्ने अनुभूति दिलाउँदै बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउने उद्देश्यले यो कार्यक्रमलाई  नयाँ अभ्यासको रूपमा बाल दिवस मनाइएको

यस्ता छन् अध्यक्षका कार्यक्रम
बुढिगंगा गाउँपालिकाले भदौ २८ गते सोमबार वुढीगंगा गाउँकार्यपालिकाको बैठकले राष्ट्रिय बाल दिवस मनाउने सन्दर्भमा एक दिन गाउँपालिकाको एक किशाेरीलाई आर्थिक र प्रशासनिक अधिकार वाहेक साङ्केतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आज  बिहान १० बजेको कार्यालय सुरु भएपछि गाउँपालिका अध्यक्षबाट अध्यक्षकालागि छनौट भएकी बालिका ऋषिदेवलाई जिम्मेवारी दिएको पत्र दिएका थिए । बालिकाले पत्र प्राप्त भए पश्चात् बालिकालाई अध्यक्षको पदभार ग्रहण गराइएको छ । पदभार ग्रहणसँगै गाउँकार्यपालिकाको बैठक राख्ने र बालबालिका सम्बन्धी केही निर्णय प्रमुख प्रशासकीय अधिकृतको सहज करणमा गर्नेछन् ।

बालबालिका सम्बन्धी निर्णयसँगै अध्यक्षको जिम्मेवारी पाएकी बालिका नजिकको एक विद्यालय र एक स्वास्थ्य चौकीको अनुगमन गर्नेछिन् । अनुगमन पश्चात् पालिकाका कर्मचारी जनप्रतिनिधिहरू र अन्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन गरी अनुगमन सम्बन्धी धारणाहरूको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरिने  प्रमुख प्रशासकीय अधिकृत बरालले बताए ।  गाउँपालिकाको अध्यक्षको रूपमा कोर्दिएको जिम्मेवारी उनले पुरा गरेर  ५ बजे आफ्नो पद  पालिकाका अध्यक्ष बालचन्द माझीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्