१४ बैशाख २०८१, शुक्रबार

बुढिगंगा गाउँपालिकाको एकदिने अध्यक्ष बालिकाले गरिन यस्ता निर्णय

संवाददाता

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा मंगलवार देशकै नमुना अभ्यास भयो । गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले सोमबार नै एउटा बालिकालाई एक दिनको गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेर आफ्नो जिम्मेवारीमा एउटा बालिकालाई राख्ने भन्ने निर्णय पारित गराए । त्यो निर्णय पारित हुँदै गर्दा सबै अचम्ममा परे । एकदिनलाई नयाँ पालिकाको अध्यक्ष ल्याउने अनी निर्वाचित अध्यक्ष सामान्य रुपमा बस्ने भन्दा सबै छक्क परे । तर यसलाई बास्तबिकता दिनको लागि पालिकाको बोर्ड बैठकमा नै निर्णय भयो र मंगलवार राष्ट्रिय बाल दिवसको अवसर पारेर एउटी बालिकालाई गाउँपालिकाको अध्यक्ष बनाईयो । बिहान १० बजे एक कार्यक्रमको आयोजना भयो र पालिकाका अध्यक्ष माझीले १६ बर्षिय बालिका सुस्मिता ऋषिदेबलाई सांकेतिक रुपमा आफ्नो पद हस्तान्तरण गरे । यो हस्तान्तरणको बिषय नै सबैकोलागि नयाँ र फरक अनुभुति बिषय बन्यो ।
५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुढिगंगा गाउँपालिकाले एक दिनको लागि सांकेतिक रूपमा १६बर्षीय बालिका सुस्मिता ऋषिदेबलाई गाउँपालिकको नेत्तृत्व हस्तान्तरण गरेको हो । पालिकाका अध्यक्ष माझीले जिम्मेवारी हस्तान्तरण गरेपछि ऋषिदेबको अध्यक्षतामा बसेको पालिकाको बोर्ड बैठकले बिभिन्न ३ वटा निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले बताए । वालवालिकालाई स्थानीय तह, निर्णय प्रकृया, स्थानीय शासनमा वालवालिकाको भूमिकाका विषयमा साझा वुझाई वनाउन अभिमुखिकरण कार्यक्रम गर्ने र उक्त कार्यक्रमको लागि ५० हजार बिनियोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बरालले बताए । त्यस्तै बैठकले आजै देखि यस पालिका भित्र बाल विवाह न्यूनिकरणका लागि प्रचारप्रसार, पोस्टर तथा चेतनामूलक सन्देश प्रवाह गर्ने र पालिका भित्र निर्मित पुर्बाधार र आगामी दिनमा बन्ने पूर्वाधारलाई बालमैत्री बनाउन शुरु गर्ने पनि बोर्ड बैठकले निर्णय गरेको उनले बताए । ऋषिदेबको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई यसपछि बस्ने कार्यपालिकाको बैठकबाट अनुमोदन गराईने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्