१४ बैशाख २०८१, शुक्रबार

बिराटनगरले बनायो आफ्नो स्थानीय पाठ्यक्रम

पहिलो पटक आधारभुत तहको नयाँ पाठ्यक्रम विकास

संवाददाता

नयाँ पाठ्यक्रम सार्बजनिक गर्दै बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर ईन्दीरा कार्की

विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो पटक आधारभुत तहको नयाँ पाठ्यक्रम विकास गरेको छ । नगरक्षेत्रका विद्यार्थीहरुलाई स्थानीय भुगोल, भाषा, पर्व र संस्कृति लगायतका विषयलाई समेटेर नयाँ पाठ्यक्रम ल्याएको हो ।
कक्षा १ देखि कक्षा ५ सम्म लागु हुने स्थानीय पाठ्क्रम विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले सार्बजनिक गरेका हुन् । विराटनगर भित्र अध्ययन गर्ने बिद्यार्थीलाई लक्षित गरि भौगोलिक, ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक विषयहरु पाठ्यक्रममा समाबेश गरिएको बिराटनगर महानगरपालिकाले जनाएको छ।
विराटनगर भित्रका थुप्रै ऐतिहासिक, पुरातात्वीक, सामाजिक र सांस्कृतिक महत्व बोकेका स्थलहरुको बारेमा विद्यार्थीले जानकारी नपाएको अबस्थामा त्यस्ता बिषयबस्तु समेट्नेगरि पाठ्यक्रम निर्माण गरिएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए । ‘स्थानियताबारे ज्ञानको कमिका कारण विद्यार्थीमा रचनात्मकताको विकास नहुने भन्दै सानै उमेर देखि विद्यार्थीलाई स्थानिय भुगोलदेखि भेषभुषासम्मका विषयमा ज्ञान दिनुपर्दछ हाम्रो मान्यता हो, मेयर पराजुलीले भने, विराटनगरका विभिन्न विद्यालय अनुगमन गर्दा विद्यार्थीमा स्थानीयताबारे ज्ञानको कमी देखिएपछि हामीले स्थानीय पाठ्क्रमको प्रारुप तयार परेका हौँ ।’
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्राबधान अनुसार स्थानिय तहले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङकको स्थानिय पाठ्यक्रम निर्माण गरी लागु गर्न पाउने व्यवस्था छ । त्यसैलाई आधार मानेर विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले “हाम्रो विराटनगर” स्थानिय पाठ्यक्रम कक्षा १ देखि ५ निर्माण गरेको हो । यो पाठ्यक्रम विराटनगर क्षेत्रका सवै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागु गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानिय भाषामा स्थानिय विषयको पाठ्यपुस्तक प्रकाशित हुने शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
प्राध्यापक डा.अनिल पोखरेलको संयोजनमा स्थानिय पाठ्यक्रम निर्माण समिति बनाईएको थियो । समितिले लामो समय लगाएर तयार पारेको पाठ्यक्रमबाट स्थानिय बिषयबस्तलाई प्राथमिकतामा राखेको छ । संस्थागत विद्यालयका तर्फबाट राजन छराहाङ, शिक्षक महासंघका सचिव डेकबहादुर बास्तोला, नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइराला, विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, पाठ्यक्रम निर्माण समितिका संयोजक अनिल पोखरेल लगायतले पाठ्यक्रम विकासले विद्यार्थीहरु स्थानियताका बारे ज्ञान प्राप्त हुने बताए ।
पाठ्यक्रममा आउने सुझाबहरुलाई आधार मान्दै कक्षा ६ देखि ८ सम्मको परिस्कृत पाठ्यक्रम चाडै नै निर्माण गरिने मेयर पराजुलीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्