१५ बैशाख २०८१, शनिबार

राष्टिय महिला क्रिकेट टोलीको ईटहरी प्रशिक्षण सम्पन्न

संवाददाता

राष्टिय महिला क्रिकेट टोली

विराटनगर । ईटहरीमा भएको राष्टिय महिला क्रिकेट टोलीको प्रशिक्षण सम्पन्न भएको छ । आइसिसी महिला ट्वान्टी-ट्वान्टी विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनौट खेल्ने महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको हो ।

सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा ईटहरीमा असोज ७ गतेदेखि सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र डिभिएम स्कूल परिसरमा भएको प्रशिक्षण सम्पन्न भएको जानकारी दिए ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरूलाई पहिलो पटक सानो सानो समूहमा प्रशिक्षण दिएको हो । राष्ट्रिय महिला टोलीको ईटहरी प्रशिक्षण निक्कै फलदायी हुने आशा रहेको टमटाले बताए । पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजनाअनुसार भदौ अन्तिम साता काठमाडौँ र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण दिइएको थियो ।

देशका तीन ठाउँको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलका लागि अन्तिम १४ जना खेलाडी छनौट हुने प्रशिक्षक टमटाको भनाइ छ । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनौट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ ।

गतवर्ष सम्पन्न प्रधानमन्त्रीकप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनलाई आधार बनाइएको छ । क्यानको छनौट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेर प्रशिक्षण सुरु गरेको थियो । महिला टी-ट्वान्टी विश्वकपको एशिया छनौटको खेल २३ देखि २८ नोभेम्बरमा मलेसियामा हुनेछ । छनौट खेलमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन् ।

यहाँ कमेन्ट गर्नुहोस्