१२ बैशाख २०८१, बुधबार

विराटनगरको जागरुक सहकारीको बार्षिक साधारण सभा, ३ करोड ५० लाख ऋण प्रवाह

संवाददाता

जागरुक बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा

विराटनगर । विराटनगरमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । जागरुक समुहबाट मासिक २१ रुपैयाँ जम्मा गरेर शुरु भएको यो सहकारी १४ औ बार्षिक साधारणसभासम्म आईपुगेको हो । केही युवाहरु मिलेर जागरुक समुह बनाएर बचत शुरु गरेकोमा सहकारीको मापदण्डमा दर्ता हुँदा २८ जना शेयर सदस्यबाट शुरु भएको सहकारीका सचिव उमेश गुरुङले जानकारी दिए । सहकारीमा अहिले ६५७ जना शेयर सदस्य पुगिसकेका छन् ।
विराटनगर महानगरपालिकाको १५ देखि वडा नम्बर १७ सम्मकार्य क्षेत्र रहेको यो सहकारीले आफ्नो कार्यक्षेत्र बिस्तारको तयारी पनि थालेको छ। गुरुङका अनुसार सहकारी मुनाफामा नगएपनि नागरिकको जीवनस्तर उकास्ने काममा महत्वपुर्ण भुमिका खेलेको छ। सहकारीमा ऋणको माग धेरै रहेको तथा असुलीमा समस्या रहेको समेत उनले जानकारी दिए ।
सहकारीका कोषाध्यक्ष दामोदर निरौलाले जागरुक सहकारी अन्य सहकारी भन्दा भिन्न प्रकृतिको सहकारी भएको बताए । सीमानाका सँग जोडिएका नागरिकलाई बचत गर्न सिकाउने यहीमात्र सहकारी भएको उनले दाबी गरे । ‘सहकारीले बचत तथा ऋण बाहेक रेमिटको पनि कारोवार गर्दै आएको छ, कोषाध्यक्ष निरौलाले भने, युवालाई लक्षित गरि युवा स्वरोजगार ऋण प्रवाह गरिएको छ।’ उनले दुई चरणमा ३२ जना युवालाई स्वरोजगार ऋण प्रवाह गरिएको बताए । नागरिकले ऋण लिनका लागि सयकडा ५ रुपैयाँ ब्याजमा ऋण लिनु पर्ने बाध्यता भएका नागरिकलाई यस्ता सहकारीले महत्वपुर्ण भुमिका खेलेको वडा नम्बर १५का अध्यक्ष अस्लम आलमले बताए । वडा अध्यक्ष अस्लमले सहकारीलाई प्रविधिमैत्री बनाई प्रविधिको क्षेत्रमा उत्कृष्ट संस्था बनाउन सहकारी सफल भएकोमा बधाई समेत दिएका थिए । सहकारीले मोबाईल एप्स पनि सञ्चालनमा ल्याएको छ भने, एसएमएस सेवा पनि संचालनमा ल्याएको सहकारीकी अध्यक्ष सुनाङ्ग सुब्बाले बताईन् ।
आर्थिक प्रतिवेदन अनुसार सहकारीको बचत रकम २ करोड ५० लाख ७१ हजार रहेको छ । सहकारीले १८ प्रकारका बचत स्किम सञ्चालनमा ल्याएको छ भने बचतमा ६.२५ प्रतिशत व्याज दिने गरेको जनाएको छ।
सहकारीको चुक्ता शेयर रकम २८ लाख ७० हजार २ सय रुपैया रहेको छ भने महिलाको मात्र शेयरक रकम १७ लाख ८ हजार रहेको छ । व्यवस्थापन समितिको मात्र शेयर रकम २ लाख ६० हजार २ सय छ भने ब्यवस्थापन समितिको मात्र बचत रकम १९ लाख २४ हजार छ ।
सहकारीले ३ करोड ५० लाख ५४ हजार ९८८ रुपैया ऋण लगानी गरेको छ भने सहकारीको राष्टिय सहकारी बैंकमा ७५ हजार शेयर रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ। जिल्ला बचत तथा ऋण सहकारी संघमा १ लाख ५० हजार र जिल्ला सहकारी संघमा १० हजार शेयर रहेको छ । जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र नेफ्सकुनमा पनि सहकारी बचत गर्ने गरेको छ । सहकारीले साधारण सभाको अबसरमा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचत कर्ता, उत्कृष्ट जेष्ठ नागरिक, बचतकर्ता र कर्मचारीहरुलाई सम्मान गरेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्