१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा प्रदेश पर्यटन बोर्डको कार्यालय स्थापना

संवाददाता

प्रदेश पर्यटन बोर्डको कार्यालय

विराटनगर । प्रदेश पर्यटन बोर्डले काम थालेको छ। गत असोज २४ गतेको मन्त्री परिषदको बैठकबाट प्रदेश पर्यटन बोर्ड गठन गर्दै जिम्मेवारी तोकेको थियो । मन्त्री परिषदको निर्णय अनुसार बोर्डको उपाध्यक्षमा फडिन्द्र अधिकारी सहित ११ सदस्यीय बोर्ड गठन भएको थियो । प्रदेश १ मा गठन भएको प्रदेश पर्यटन बोर्डले बिहिबार देखि कार्यालय स्थापना गरेर काम थालेको हो ।
प्रदेश पर्यटन बोर्डको कार्यालयको प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारी र राज्यमन्त्री उत्तमकुमार बस्नेतले शुभारम्भ गरेका हुन् । हाललाई मन्त्रालयमै बोर्डको कार्यालय राखिएको छ। कार्यालय स्थापनासँगै उपाध्यक्ष फणिन्द्र अधिकारी सहितका सदस्यहरुले पद बहाली गरेका छन् । कार्यालय उद्घाटन गर्दै मन्त्री तिवारीले प्रदेश पर्यटन बोर्डको स्थापना सँर्गै आगामी दिनमा पर्यटकीय गतिबिधि बढ्दा विस्वास ब्यक्त गरे । ‘बोर्डको स्थापना सँगै प्रदेशको पर्यटन प्रवद्र्धन र पर्यटन पूर्वाधारको विकासका लागि बोर्डले कार्ययोजनाका साथ काम गर्ने छ, मन्त्री तिवारीले भने, बोर्डलाई केही वर्ष सरकारले नै सहयोग गर्ने र त्यसपछि विस्तारै आफैं स्रोतको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने छ ।’राज्यमन्त्री बस्नेतले पर्यटन क्षेत्रलाई उद्योगका रुपमा अघि बढाउनका लागि बोर्डको भूमिका महत्वपूर्ण हुने बताए ।
पद बहाली गर्दै प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले बोर्ड गठनसँगै कार्यालय संचालन हुनुले अब पर्यटन सम्बन्धि योजना निर्माण सहित बोर्डले गतिबिधि अघि बढाउने बताए । ‘बोर्डमा हामी पर्यटनमा केही गरौँ भन्ने युवाहरुको समुह छ, उनले भने, आगामी दिनमा योजना बनाएर पर्यटन सम्बन्धि गतिबिधिका लागि कामहरु अघि बढाउने छौँ ।’
कार्यालय स्थापना तथा पद बहाली कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार शाह, होटल व्यवसायी संघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, पर्यटन पुनरुत्थान समितिका प्रदेश संयोजक भविश श्रेष्ठ, होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजेन्द्र दंगालले बोर्ड गठन र कार्यालय स्थापना गरेर सरकारले पर्यटन क्षेत्रका लागि नयाँ कामको सुरुवात गरेको बताएका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्